

काठमाडौं । बहुचर्चित ओम्नी प्रकरणको फेरि चर्चा हुन थालेको छ । कोरोना महामारीको बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भनेर चर्चा पाएको यो प्रकरण अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा पुगेको छ । समितिले यससम्बन्धी के भएको हो भनेर खोजी गर्न थालेको छ । समितिले कोरोना महामारीकोे समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग मागेको छ ।
समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि समितिले अध्ययन गरिरहेको जनाइएको छ । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक साताअघि पत्र लेखेर योबेला खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको समिति सचिव एकराम गिरीले जानकारी दिए । समितिको पत्रमा ‘यथाशीघ्र विवरण उपलब्ध गराउनू’ भने पनि स्वास्थ्य मन्त्रालयले जवाफ नपठाएको समितिले सचिवालयले केही दिनअघि जनाएको छ । यो प्रकरणका बेला प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल थिए ।
नेपालमा कोरोना महामारी फैलिन नदिन २०७६ साल चैतमा सरकारले लकडाउन गरेको थियो । त्यही बेला सरकारले आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो तर बिनाप्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफलसमेत गरेको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सामग्री खरिद प्रक्रिया कानुनविपरीत भएको प्रतिवेदन समेत दिएको थियो । लेखा समितिले २०७७ साल पौष ३ गते ओम्नी प्रकरणमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो । प्रकरणले अहिले ओलीलाई पनि तनाब भएको छ । ओलीले भनें त्यतिबेला हतार भएकाले छिटो स्वास्थ्य सामग्री ल्याउन ओम्नीलाई जिम्मा दिएको बताउँदै आएका छन् ।
