काठमाडौं, मंसिर २४ । लायन्स क्लव अफ काठमाडौं सिद्धार्थ प्यालेसले आज कागतीका विरुवा वितरण गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ घिमिरे गाउँमा रहेको श्री सम्पूर्ण कृषि सहकारी संस्था लिमिटेडलाई कागतीका झण्डै २ सय वटा विरुवा हस्तान्तरण गरिएको सिद्धार्थ प्यालेसका अध्यक्ष कोषराज गिरीले बताए । सहकारीले ती विरुवा गाउँका किसानलाई वितरण गर्ने गिरीले जनाएका छन् । सहकारी संस्थाका अध्यक्ष परशुराम दाहाललाई ती विरुवा हस्तान्तरण गरिएको सिद्धार्थ प्यालेसकी कोषाध्यक्ष चिजन पौडेलले बताइन् । पौडेलले सिद्धार्थ प्यालेसमा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेकाले जुनसुकै काम गर्न पनि सजिलो भएको जनाइन् । सिद्धार्थ प्यालेसका अध्यक्ष गिरीले क्लवका सबै साथीहरुको सक्रियताका कारण छोटो समयमै धेरै सामाजिक काम गर्न सकिएको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।

सिद्धार्थ प्यालेसले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्दैै आएको संस्थाका उपाध्यक्ष अनिल शर्माले बताए । बागबजार काठमाडौंमा रहेको डि–डास योकोसो एजुकेशनल कन्सल्टेन्सी प्राइभेट लिमिटेडका सञ्चालकसमेत रहेका शर्माले सामाजिक काम गर्नु आफैंमा चुनौती भए पनि सबैको सहकार्यले सम्भव भएको बताएका छन् ।

शर्माले केही समयअघि गौरादह–३ झापामा रहेको धिमधिमे युवा क्लवलाई खेलकुदका सामग्री वितरण गरिएको पनि जनाएका छन् । संस्थाका सचिव राजु नेपालले सामाजिक कार्यमा सबैले आफ्नो ठाउँबाट सकेसम्म योगदान गर्ने गरेकाले संस्थाले सोचेअनुसार काम गर्न सम्भव भएको बताए । डिल्लीबजार काठमाडौंमा रहेको रिच एजुकेशनल सर्भिसेजका प्रबन्ध निर्देशकसमेत रहेका नेपालले सिद्धार्थ प्यालेसले योजना नै बनाएर काम गरिरहेको जनाएका छन् ।

आयोजक संस्थाकी सदस्य तथा भक्तपुरको भक्तपुर अस्पतालकी डाक्टर डा. रोजी थपलियाले संस्थाले सामाजिक भावनालाई प्राथमिकतामा राखेकाले सबै पक्षबीच राम्रो समन्वय भएको बताइन् । उनले केही समयअघि क्यान्सर पीडित काठमाडौंकी अप्सरा आचार्यका लागि आर्थिक सहयोग उपलब्ध गराइएको जनाएकी छिन् । उनले विपतमा परेका मानिसलाई सहयोग गर्नु संस्थाको उद्येश्य भएको पनि बताइन् ।