
काठमाडौं, मंसिर २९ । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ ।
मंसिर २२ गते सूचना जारी गर्दै निर्वाचन आयोगले मंसिर २४ देखि आज २९ गतेसम्म दल दर्ता गर्न भनेको थियो । आजसम्म दर्ता गर्ने दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् । आयोगका अनुसार नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टीलगायतले निर्वाचनका लागि दल दर्ता गरिसकेका छन् । १९ जनाको लागि माघ ११ गते निर्वाचन हुँदैछ । अहिले भइरहेका राष्ट्रियसभाका २० जना सांसदको कार्यकाल फाल्गुण २० गते सकिँदैछ । १ जना सांसद भनें सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन परिणाम आइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
