
काठमाडौं, पौष ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत गएर ठूलो आकारको केन्द्रीय समिति बनाएपछि कर्मचारीले नेता नचिनेर समस्या भएको छ ।
आइतबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा हलभित्र प्रवेश गर्दा पार्टी कार्यालयका कर्मचारीले नेता नचिन्दा ‘तपाई पनि केन्द्रीय सदस्य हो र ?’ भनेर सोध्ने गरेको एक नेताले बताए । केन्द्रीय सदस्य धेरै भएकाले कर्मचारीले मात्र होइन पार्टीकै प्रमुख नेताले पनि को–को केन्द्रीय सदस्य हो, को पदाधिकारी भनेर चिनेका छैनन् । बैठकमा बाहिरको कोही मान्छे आएजस्तो गररे चेकजाँच गरिएको ती नेताले बताए । अध्यक्ष लिङ्देनले आफैंले विभिन्न आरोपमा कारबाही गरेकालाई पनि कारबाही फुकुवा नगरी कसैलाई पदाधिकारी त कसैलाई केन्द्रीय सदस्य बनाएका छन् । अध्यक्षको यो गलत कार्यशैलीको पार्टीभित्र विरोध हुँदै आएको छ ।
राप्रपामा पदाधिकारीसहित १ सय ९९ जनाको केन्द्रीय समिति रहने विधान छ । पार्टीमा कति पदाधिकारी र केन्द्रीय सदस्य छन् भन्ने नेताहरुलाई नै थाहा नभएको उनीहरु बताउँछन् ।
