काठमाडौं, पौष ८ । प्रधानमन्त्री रहेका तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले २०७७ साल पौष ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि नेकपा एमालेलाई सकटको दिन सुरु भएको छ ।

प्रधानमन्त्री पद खुस्किने बुझेपछि उनले अरु विकल्पमा जानुभन्दा पनि त्यही उपयुक्त हुन्छ भनेर प्रतिनिधिसभा विघटन गरे । उनले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतको आदेशले ब्यूझ्याइदिएको थियो । एकपटक विघटन गरेर ब्यूतिएको संसद फेरि विघटन गर्ने आँट गरेका ओलीलाई त्यसपछि दशा सुरु भयो । ओलीले फेरि २०७८ साल जेष्ठ ७ गते प्रतिनिधिसभा विघटन गरे । ओलीले पटकपटक प्रतिनिधिसभाको हत्या गर्न खोजेको आरोप लागे पनि उनले आफ्नो ताल छोडेनन् । नेकपामा आन्तरिक विवाद बढ्दै गएपछि ओलीले त्यसलाई व्यवस्थापन गरेर पार्टीलाई एकढिक्का बनाएर लानुभन्दा पनि सँगै रहेको अर्को पार्टी नेकपा (माओवादी केन्द्र) लाई पेलेरै जाने मनस्थिति बनाए ।

एकातिर पार्टीमा देखिएको आन्तरिक द्वन्द्व र अर्कातिर पार्टीभित्रकै आफ्ना पक्षका नेतालाई पनि फकाउन नसक्दा ओली झन् संकटमा परेका थिए । ओलीले पार्टीको सरकारभन्दा पनि प्रधानमन्त्री आफू भएकाले आफैमात्र सरकार भएजस्तो गर्न थालेपछि उनीमाथि कलंकको दाग लाग्दै आयो । प्रतिनिधिसभा विघटनसँगै झाँगिएको असन्तुष्टिको यात्राले अन्ततः नेकपामात्रै होइन एक्लो भइसकेको एमाले पनि विभाजन हुन पुग्यो । सर्वोच्च अदालतको आदेशले नेकपालाई पनि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बेग्लाबेग्लै बनाइदिएको थियो ।

पछिल्लो निर्वाचनमा हारको प्रमुख कारण पार्टी विभाजन भएको एमालेले निश्कर्ष निकालेको छ । एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) ले पनि एमालेलाई हराउन सकेकोमा खुशी व्यक्त गरेको छ ।