काठमाडौं, पौष । नवलसिंह रावल फाउण्डेसनले वलदेव शाह (बाँकाबीर) नेपालको पहिलो शहिद भएको दाबी गरेको छ ।

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिसापानीमा रहेको फाउण्डेसनले यसबारेमा प्रचारप्रसार गर्दै आएको छ ।
फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले वलदेव शाह (बाँकावीर) नै नेपालको पहिलो शहिद भएको पर्याप्त प्रमाण भएको दाबी गरेका छन् । नेपालका प्रथम शहिद भनेर लखन थापालाई चिनिन्छ । थापालाई १९३३ साल गोरखाको मनकामना मन्दिर परिसरमा रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । २०५६ सालमा थापालाई शहिद घोषणा गरेको सरकारले २०७२ साल असोज ३ गते थापालाई नेपालको पहिलो शहिद भनेर औपचारिक घोषणा गरेको थियो । अध्यक्ष रावलले थापाभन्दा अघि नै शाह शहिद भएको र उनले देश र जनताको न्यायाको पक्षमा धेरै काम गरेको स्पष्ट पारेका छन् । फाउण्डेसनबाट प्रकाशित पुस्तकमा रावलले भनेका छन् ‘जंगबहादुर राणाको जहानिँया राणा शासनविरुद्धमा नेपालमा पहिलोपटक छापामार युद्ध सुरु गरेका वलदेव शाह (बाँकाबीर) को षडयन्त्रपूर्वक १९०६ सालमा हत्या गरिएको इतिहासले प्रमाणित गरिसकेको छ । जनस्तरबाट राज्यलाई दवाव दिन मोहन्याल ७ बाँकामा बाँकाबीरको पहिलो सालिक निर्माण सम्पन्न भएको छ । सुदूरपश्चिममा जन्मेका आधारमा राज्यले गरेको विभेदलाई हटाउन र प्रथम शहिद घोषणा गर्न हजुरको व्यक्तिगत तथा संस्थाको पूर्ण समर्थनको अपेक्षा गर्दछु ।’

पुस्तकमा थप लेखिएको छ ‘बाँकावीर बाँकामा लुकेर बसेको र आफ्नो सैन्य दस्ताका लागि आवश्यक रासन पानी जम्मा गर्र्दैछ भन्ने खबर राणाका सेनाहरुले थाहा पाइसकेका थिए । बाँकावीरले छनौट गरेको ती युवाहरुले डोटीदेखि बझाङ र दैलेखदेखि बैतडीसम्म तहल्का मच्चाए । त्यसैबेला बाँकावीरकी आमाले गाएको देउडा अछामी जनमानसमा अझै प्रचलित छ ।
कोल्तडी भावरभित्र बाँका लायो चिउरो
कैका खुँडी चारो खान्छौ मेरा पाल्या पिउरो ।

पुस्तकका अनुसार ‘बाँका’ को शुद्ध नेपाली अर्थ साहसी, खाइलाग्दो, रुपवान हुन्छ भनें वीरको अर्थ बहादुर, सुरो वा वलवान हुन्छ । वलदेव पनि पल्टनका अत्याचारीलाई छरपष्ट पर्ने साहसी भएकाले बाँकावीरको उपाधिबाट सम्मानका साथ सम्बोधन गरिएको स्थानीय मान्यता छ । बाँकावीरले चलाएको अभियान अछाममा मात्र सीमित रहेन । दक्षिण कैलालीदेखि उत्तर वझाङ र पूर्व दैलेखदेखि पश्चिम बैतडीसम्म फैलिएको थियो । कैलालीको चिसापानीबाट उत्तरको जंगलमा पल्टनले बाँकावीरलाई घेरा हाली पक्रन खोज्दा वर्षादको भेलले उर्लिएको खोलासमेत उफ्रिएर पार गरी भाग्न सफल भएका थिए । सो स्थान अहिले पनि ‘बाँकावीर फट्के’ को नामले चिनिन्छ भनें त्यहाँ बनेको पुललाई बाँकावीर पुल भनिन्छ ।

फाउण्डेसनका अध्यक्ष रावलले बाँकावीरको प्रचार नहुँदा उनी ओझेलमा परेको बताए । उनले बाँकावीरको योगदानलाई पाठ्यक्रममा पनि समावेश गरिनुपर्ने माग गर्दै आएका छन् । मोहन्याल गाउँपालिका ७ चिसापानीमा बाँकावीरको शालिकसमेत निर्माण गरिएको छ ।