काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
राष्ट्रियसभामा ५९ सांसद रहने छन् । उम्मेदवार छनौटका लागि दलहरुले गृहकार्य गरिरहेका छन् ।

फागुन २० गते २० जना सांसदको कार्यकाल सकिँदैछ । जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने छन्, बाँकी १९ जनाको निर्वाचन हुने छ । फेरि सरकारले एक जनालाई त्यसरी नै मनोनीत गर्ने छ । राष्ट्रियसभामा एमाले कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेट गरी केही सिट मागेका थिए । ओलीको प्रस्तावमा देउवा र दाहाल सहमत भएको भनिए पनि सत्ता गठबन्धनका नेताहरुले मानेनन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीलाई भागबण्डा दिन नहुने बताएपछि ओलीको सपनामा प्रहार भएको छ । १९ सिटमा निर्वाचन हुनेमा ओलीले एमालेलाई ६ वटा सिट मागेका थिए । यो अवस्थामा एमालेले १९ मध्ये एक सिट पनि जित्ने सम्भावना छैन । अहिले एमालेबाट राष्ट्रियसभामा १६ जना सांसद रहेका छन् जसमध्ये ८ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ । बाँकी ८ जनाको कार्यकाल २०८२ को फागुन २० गतेसम्म हुने छ । एमालेले यो निर्वाचनमा कुनै पनि सिट नजिते २०८२ को फागुन २० देखि राष्ट्रियसभामा एमालेका सोनाम ग्याल्जेन शेर्पामात्र सांसद रहने छन् । उनी कोशी प्रदेशबाट दुई वर्षअघि निर्वाचित भएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सांसद र सम्बन्धित प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । उनीहरु सबैको मतभार भनें फरकफरक रहेको छ । राष्ट्रियसभा गठन हुँदा सुरुमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीनजनामध्ये एकको कार्यकाल दुई वर्ष, अर्काको ४ वर्ष र बाँकी एकजनाको ६ वर्षको रहेको थियो । यी तीनजनाले २०७५ असारको पहिलो साता गोलाप्रथाबाट आफ्नो कार्यकाल चयन गरेका थिए । अब निर्वाचित भएर आउनेको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ ।