
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्यको चुनावका लागि ६ जना उम्मेदवार टुंगो लगाएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा नेकपा (माओवादी केन्द्र) ले १९ मध्ये ६ सिट पाएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, वाग्मती प्रदेशबाट श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कुप्रसाद सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
सत्तारूढ गठबन्धनको आज बसेको बैठकले संयुक्तरूपमा उम्मेदवार उठाउने निर्णय गर्दैै सिट बाँडफाँट गरेको थियो । त्यही बाँडफाँटमा माओवादी केन्द्रको भागमा ६ वटा सिट परेको थियो । सत्ता गठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो । राष्ट्रिय सभा सदस्यका लागि भोलि मनोनयन हुँदैछ । माघ ११ गते निर्वाचन हुँदैछ ।
