काठमाडौं, पौष २९ । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले काठमाडौंको भक्तपुर बस स्टेण्डमा रहेको ओएसिस एब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सी प्राइभेट लिमिटेडलाई सम्मान गरेको छ ।

फेकनको १३ औं साधारणसभामा यो कन्सल्टेन्सीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो । संस्थाको साधारणसभालाई सफल बनाउन योगदान गरेबापत सम्मान गरिएको आयोजकले जनाएको छ । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राम थापाले संस्थाले गरेको सम्मानले आफूलाई थप उत्साहित बनाएको बताए । थापाले भोलिका दिनमा पनि संघसंस्थाको हित हुने प्रकारका सामाजिक काममा आफूहरु थप सक्रिय बन्ने बताएका छन् । १६ वर्षदेखि विद्यार्थीलाई सही शैक्षिक परामर्श दिँदै आएको ओएसिसले क्यानडा, अष्ट्रेलिया, यूएसए, यूकेलगायतका देशमा विद्यार्थीलाई उच्च शिक्षाको लागि परामर्श दिँदै आएको छ । प्रबन्ध निर्देशक थापासहित कन्सल्टेन्सीकी इन्टरनेशनल रिलेसन डाइरेक्टर रेश्मा राजथलालाई फेकनका अध्यक्ष राजु निरौलाले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरे ।

राजथलाले फेकनलाई पुर्याएको योगदानको सम्मान गर्दै उनलाई पनि छुट्टै सम्मान गरिएको फेकनले जनाएको छ । शिक्षा राज्यमन्त्री प्रमिला यादव, फेकनका अध्यक्ष राजु निरौलालगायतले उनलाई सम्मान गरेका हुन् । फेकनको गर्विलो इतिहास निर्माण गर्न फेकनलाई शैक्षिक परामर्शको क्षेत्रमा गर्वलायक संस्था बनाउन राजथलाले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको सम्मानपत्रमा लेखिएको छ ।

राजथला गत असार २३ गते भएको फेकनको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार थिइन् । उनी फेकनलाई सबैको साझा थलोको रुपमा विकास गर्नुपर्ने बताउँछिन् । ‘मैले उपाध्यक्ष भएर केही राम्रा काम गर्ने योजना बनाएको थिएँ, त्यो पूरा गर्न पाइन तर पनि म बाहिर रहेर जे गर्न सक्छु त्यो गर्छु’ उनी भन्छिन ‘व्यवसायी साथीहरुले पनि सबै एकजुट भएको हेर्न चाहनुभएको छ, जो जहाँ छौं शैक्षिक परामर्शको लागि नै योगदान गर्नुको अरु विकल्प छैन ।’

राजथलाले आफू कार्यसमिति सदस्य हुँदा पनि आफ्ना धेरै योजना लागू गरेको बताएकी छिन् । संस्थाले दिएको सम्मानबाट आफूलाई थप जिम्मेवारी प्रदान भएको उनको भनाई छ ।