
काठमाडौं, माघ २४ । माघ ११ गते भएको राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमध्ये एक सिटमात्रै जितेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियसभा सुन्नेबित्तिकै तनाव भएको छ ।
ओलीले सत्ता गठबन्धनसँग मिलेर केही सिट हात पार्ने सोच बनाएका भए पनि सत्ता गठबन्धनमा रहेका केही नेताले नमानेपछि ओलीको चाहना अपूरो भएको थियो । ओलीले केही सिट दिन र मिलेर जाने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाएका थिए । आफूलाई खाँचो परेपछि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका ओलीले ६ वटा सिट मागेका थिए । दाहाल र देउवाले यो प्रस्तावमा छलफल गर्न सकिन्छ भनेर आश्वासन दिए पनि सत्ता गठबन्धनका नेता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले मानेनन् । कुनै दिन एमालेसँग सहकार्य गरे पनि कुरा नमिलेपछि जसपाले एमालेसँगको सहकार्य ताडेको थियो । उता एमालेमा ओलीले बढी पेलेपछि नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी खोलेका थिए । ओली अझै पनि नेकपा (एकीकृत समाजवादी) लाई पार्टी मान्दैनन् तर पनि एमालेलाई मत माग्ने बेलामा भनें उनी आफ्ना दूतलाई नेपाल भेट्न भनें पठाइरहन्छन् । ओलीकै कारण पार्टी छोड्न बाध्य भएका नेपालले हिजो भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफूहरुको पार्टीको कारणले नै एमाले धेरै ठाउँमा पराजित भएको निश्कर्षसमेत निकालेको थियो ।
राष्ट्रियसभामा निर्वाचन भएको १९ सिटमध्ये एमालेले कोशी प्रदेशमा एक सिट जितेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सहयोग गरेपछि एक सिट जित्न सफल भएको एमालेले यसलाई ठूलो खुशी मानेको छ तर एमाले अध्यक्ष ओलीले भनें यो निर्वाचनको विषयलाई लिएर खासै प्रतिक्रिया दिएका छैनन् । एमाले जनताको पार्टी भएको, राम्रो धरातल भएको र एमालेलाई कुनै शक्तिले पनि हराउन सक्दैन भन्ने भाषण गर्न पछि नपर्ने ओलीका लागि राष्ट्रियसभाको निर्वाचन चिन्ताको विषय बनेको छ ।
संविधानअनुसार हरेक दुई–दुई वर्षमा राष्ट्रियसभाको निर्वाचन हुने छ । २०७८ सालमा भएको निर्वाचनमा पनि एमालेले कोशी प्रदेशबाट एक सिट जितेको थियो । २०८२ सालमा एमालेले कुनै पनि सिट नजित्दा राष्ट्रियसभामा दुई वर्षअघि जितेका सोनाम गेल्जेन शेर्पा र भर्खरै जितेकी रुक्मिणी कोइरालामात्र हुने छन् । अहिले पहिलो स्थानमा रहेको नेकपा एमाले फागुन २१ पछि राष्ट्रियसभामा तेस्रो पार्टीको रुपमा रहने छ । एमालेले कोशी प्रदेशको एक सिटमा भनें राप्रपासँग तालमेल गरेको थियो । तालमेल गरेको स्थानमा राप्रपाका उम्मेदवार पराजित हुँदा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता कृष्णप्रसाद सिटौला विजयी भए ।
कोशीका दुई सिटमध्ये महिला कोटाको उम्मेदवार भएकी कोइराला भनें निर्वाचित भइन् । राप्रपाले आफ्ना उम्मेदवार पराजित हुनु र एमालेसँग गठबन्धन गरेका एमालेका उम्मेदवार भनें विजयी हुँदा आपत्ति जनाएको छ ।
एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच राम्रो तालमेल भएकाले यी दुई पार्टीले पहिलेदेखि नै चुनावी गठबन्धन गर्दै आएका छन् । अघिल्लो मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा –३ मा एमालेले राप्रपाका अध्यक्ष लिङ्देनलाई सहयोग गरेको थियो त्यसबाट ओलीले झापा–५ मा राप्रपाको मत आफूले लिएका थिए । एमालेले आफूलाई हराउन सबै शक्तिहरु एकजुट भएर लागे पनि एमालेले धेरै ठाउँमा जितेकाले त्यो शक्ति पराजित भएको भन्दै आएको छ । एमालेले आफूले गरेको तालमेललाई भनें तालमेल नभनेर सहकार्य भन्दै आएको छ ।
