
काठमाडौं, फाल्गुण ६ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।
माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले जानकारी दिए । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए ।
जनता समाजवादी पार्टी (जसपा) का यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन पुरयाउनुपर्ने हुन्छ । आवश्यक छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेकाले उनी सहज अवस्थामा छन् ।
प्रदेशमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र नेकपा (एकीकृत समाजवादी) का ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ । मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन् । सरकारलाई समर्थन गरेको कुनै पनि दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपा संसदीय दलका नेता अभिराम शर्मा भने फरार छन् ।
