काठमाडौं, फाल्गुण १३ । काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले आमरण अनशन स्थगित गरेका छन् ।
हिजो बेलुका भएको ५ बुँदे सहमतिसँगै जिसस प्रमुख गौतमले अनशन स्थगित गरेका छन् । उनी नेकपा (एकीकृत समाजवादी) का नेता हुन् । काभ्रेको धुलिखेल– भक्तपुरको खावा सडक विस्तारमा ढिलाइ भएको भन्दै गौतमले शुक्रवारदेखि आमरण अनशन थालेका थिए । गौतम र निर्माण व्यवसायी तथा सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिबीच फागुन १५ गतेभित्र एक सय जना जनशक्ति, ४ वटा स्काभेटर, ७ वटा टिप्परसहित आवश्यक सामग्री व्यवस्था गरेर काम शुरु गर्ने सहमति भएको छ । गौतमले सडक नबन्दा नागरिकको ज्यान जोखिम भएकाले नागरिकको जीवनरक्षाका लागि अनशन बसेको बताएका थिए ।

तत्काल काम तीव्र नभए सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गर्न प्रक्रियालाई अगाडि बढाउने भएको छ । त्यस्तै काम शुरु भएपछि चैत १९ गतेभित्र धुलिखेलतर्फको २ किलोमिटर सडक कालोपत्रे गर्ने र थप क्षेत्रको कामलाई तीव्रता दिने सहमति भएको छ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तार तथा स्तरोन्नतिको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले ठेक्का सम्झौता भएको २० महिना पूरा हुँदा पनि लक्ष्य अनुसारको काम गरेको छैन । २०७९ जेठ २० गते कामका लागि ठेक्का सम्झौता भएको थियो । धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक विस्तारको काम ठेक्का सम्झौता भएको मितिले २२ महिना अर्थात् २०८० चैत १९ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।