
काठमाडौं, फाल्गुण ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।
उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १ सय ५७ जनाले मत दिए भने विपक्षमा १ सय १० जनाले मतदान गरे । एक जना भने तटस्थ रहे । आज प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएकाो भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे । फाल्गुण २१ गते प्रचण्डले नयाँ सरकार बनाएका हुन् । उनले नेपाली कांग्रेस, जनमत पार्टीलगायतलाई सरकारबाट हटाएर नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलसँग गठबन्धन गरेका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरे ।
