काठमाडौं, चैत्र २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरूङले जानकारी दिए । हिजो नै मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएको थियो तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेशसभाको बैठक आजका लागि सारिएको थियो । केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमति अनुसार कर्णालीको मुख्यमन्त्री एमालेलाई परेको थियो तर भइरहेका माओवादीका नेता मुख्यमन्त्री शर्माले आफ्नै सरकार रहनुपर्छ भनेपछि एमालेसँग विवाद बढेको हो ।
भागबन्डामा कर्णाली एमालेले लिने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत नलिई राजीनामा गर्न एमालेले आग्रह गरेको थियो तर मुख्यमन्त्री र माओवादी केन्द्रले विश्वासको मत लिएर एक÷दुइ दिनमै राजीनामा गर्ने प्रस्ताव राखेपनि एमाले सहमत नहुँदा मंगलबार विश्वासको मत लिनका लागि तय भएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो । कर्णालीमा कांग्रेसले मतदान गर्ने हो भनें शर्माले बहुमत पुर्याउँछन्, यसो हुँदा एमालेले मतदान नगरे पनि सरकार टिक्छ ।
४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सांसद चाहिन्छ । यहाँ एमालेका १० र माओवादी केन्द्रका १३ र नेकपा (एकीकृत समाजवादी) का १ जना सांसद छन् । कांग्रेसका १४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन् ।