काठमाडौं, चैत्र २६ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज शीर्ष नेतासँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछि आज बिहान साढे १० बजेलाई तय भएको सभामुख र शीर्ष नेताबीच छलफलको समय सरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले यसअघिको बैठकमा समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिएको थियो ।
यही विषयलाई लिएर कांग्रेसले संसद अवरोध गरेपछि सभामुखले प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । सभामुखसँगको छलफलमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।