सोलुखुम्बु, २६ चैत्र । नेकपा ९एमाले० जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि भारी मतसहित विजयी भएका छन् । उनले २ सय ५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी हर्कबहादुर राईले १ सय २५ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा आशकुमार राई २ सय ७७ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गरे । सचिवमा कल्पना राई, खुलातर्फ उपसचिवमा मिङमाछिरी शेर्पा, महिला सहसचिवमा मोहनकुमारी कार्की विजयी भएका छन् ।

उपसचिव खुलाका लागि पाँच जना र महिला उपसचिवका लागि चार जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । ९० सदस्यीय जिल्ला कमिटी चयनका लागि चार सय २० जनाले मतदान गरेका थिए । गत शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि शनिबार निर्वाचन भएको हो । अध्यक्ष वास्तोला नेचासल्यान गाउँपालिकाका निवर्तमान अध्यक्ष पनि हुन् ।