
काठमाडौं । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ वरिष्ठ हास्य कलाकार गणेश इशारा राईको १४औं ’अल नेपाल एकल कमेडी शो–२०८१’ भोलि बिहीबार काठमाडौंस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।
प्रतिनिधिसभाकी उप–सभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा महिला राष्ट्रिय टिमकी सदस्य प्रिती राईलाई समाजसेवी वीरमाया राई (सोभोमा) स्मृति कोषबाट सम्मान गरिने जनाइएको छ । राईलाई २०८० को उत्कृष्ट खेलाडीको रुपमा नगदसहित सम्मान गरिने बताइएको छ । कार्यक्रममा अन्य विशिष्ट समाजसेवी तथा कार्यक्रमलाई सहयोग गर्ने सहयोगी हात तथा संस्थाहरुलाई पनि सम्मान गरिने कार्यक्रम संयोजक सृष्टि भुजेलले जानकारी दिइन् । कार्यक्रमको तयारी पूरा भएको र टिकटहरु पनि सबै बिक्री भईसकेको संयोजक भुजेलले बताए ।
कार्यक्रममा इशाराको एकल कमेडिसहित वरिष्ठ गायिका कुन्ति मोक्तानको विशेष प्रस्तुती तथा अन्य कलाकार सपन श्रेष्ठ, कला इशारा राई, राजन पङधाक लिम्बु, भक्त सुनुवार, मन बहादुर कुलुङ, स्मिता प्रधान, सोमनु राई, सुमन थुलुङ राईलगायत अन्य दर्जनौ कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक भुजेलले जानकारी दिए । हास्य कलाकार ईशाराले आफ्नै हजुरआमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरी बिभिन्न समस्यमा परेका, भैपरी आउने दःुखी, पीडितहरुलाई सहयोग गर्दै आएका छन् । गायनसँगै समाजसेवामा समेत सक्रिय चर्चित हास्य कलाकार ईशाराले गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ ‘दुर्गती’ जस्ता गाईजात्रे एल्बम श्रोता तथा दर्शकमाझ ल्याइसकेका छन् । त्यसैगरी उनले दर्जनौ म्युजिक भिडियोको निर्देशन र अभिनयसँगै धेरै संख्यामा इभेन्ट अर्गनाइजेसनका कामहरु पनि गरेका छन् ।
कार्यक्रमको मुख्य आयोजक एक्सन इन्टरटाईमेन्ट प्रालि.रहेको छ भने सह– आयोजकमा स्मार्ट ग्लम ब्यूटी पार्लर र वीलिम ग्रुप रहेको छ ।
