
काठमाडौं, जेठ ९ । नेपाल पत्रकार महासंघको आगामी २६ गते हुने निर्वाचनमा राप्रपानिकट मिडिया नेपालले सक्रियतापूर्वक सहभागिता जनाउने निर्णय गरेको छ ।
निर्वाचन नजिकिँदै जाँदा पार्टीनिकट सबै संघसंगठनले सक्रियता देखाउन थालेका छन् । उनीहरुले भित्रभित्रै गोप्य मिटिङ गर्दै टिकट वितरण र अन्य संघ संगठनसँग कसरी सहकार्य गर्ने भनेर लागिरहेका छन् । सदस्यता शुद्धीकरणको विषय र केही बिबादित जिल्लामा नयाँ सदस्यको विषय पेचिलो बन्दै गएको छ । मिडिया नेपालको बुधबार बसेको बैठकले महत्वपूर्ण ४ वटा निर्णय गरेको अध्यक्ष गोपाल पौड्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । पत्रकार महासंघको आगामी निर्वाचनमा उम्मेदवार छान्न तथा अरु संघ संगठनसँग समन्वय गर्नका लागि मिडिया नेपालले अध्यक्ष पौड्यालको संयोजकत्वमा मुकुन्द ढुंगाना र राजेन्द्र वस्नेत सदस्य रहेको समिति गठन गरेको छ । मिडिया नेपालले केही पदीय जिम्मेवारीसहित संस्था पुनर्गठन गरेको पनि जनाएको छ ।
मिडिया नेपालले पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा केन्द्रित भएर तत्कालै चियापान तथा भेटघाट कार्यक्रम गर्ने पनि जनाएको छ ।
