काठमाडौं, जेठ ९ । नेपाल पत्रकार महासंघको निर्वाचन जेठ २६ गते हुँदैछ । निर्वाचनले ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

महासंघको नेतृत्व गर्नका लागि केन्द्र, प्रदेश र जिल्लाका पत्रकारहरु सक्रियताका साथ लागेका छन् । हिजोसम्म पत्रकारिताको मैदानमा नदेखिएका पनि निर्वाचन आउँदै गरेपछि महासघको कार्यालय वरपर घुम्दै आफू नै पुरानो पत्रकार भएको भन्न थालेका छन् । पत्रकार महासंघ व्यावसायिक र पत्रकारको साझा संगठन हुनुपर्ने भए पनि त्यस्तो पाइएको छैन । पार्टीका नेताले आफ्नो पक्षमा पत्रकार लागे सजिलो हुन्थ्यो भन्नु स्वाभाविकै भए पनि पत्रकारले नै ‘म तपाइको पार्टीको मान्छे’ भनेर शरण पर्न जाने प्रवृत्ति गलत छ । यस्ता पत्रकारले पत्रकारिताभन्दा पार्टीकारिता गर्दै आएका छन् ।

पार्टीनिकट पत्रकारहरुलाई खासगरी बढीजसो आफ्नै पार्टीको मात्र ज्ञान हुन्छ र उनीहरु फरक पार्टीको समाचार लेख्न मन पराउँदैनन् । महासंघको निर्वाचन आइरहँदा टिकट पाउनुपर्छ भनेर पत्रकारहरु नेताकामा धाउन थालेका छन् । नेताले नै महासंघमा उम्मेदवार बनाउन प्रतक्ष्य हस्तक्षेप गर्ने भएकाले पनि उनीहरुलाई नेताको चाकडी गर्नु बाध्यता नै भएको छ । राजनीतिले महासंघको निर्वाचनलार्य प्रभावित पार्नु दुःखद् कुरा हो । महासंघ बेग्लै र स्वायत्त संस्था भनिए पनि यसलाई राजनीतिको प्रमुख अड्डा बनाइएको छ ।

राजनीति फेरबदल हुने सम्भावना छ भन्दै एक पक्षले समयमा निर्वाचन गर्नेतिर चासो देखाएन । अझै पनि केही पत्रकार हाम्रो पार्टीको सरकार बन्ला र निर्वाचन जित्न सजिलो हुन्छ भनेर दाउ हेरेर बसेका छन् । महासंघको नेतृत्वमा पत्रकारिता गरेका वा बुझेका मानिस आउनुपर्छ भनेर पत्रकारहरुले भन्दै आएका छन् । पार्टीको लाइनमा दायाँबायाँ गर्नु हुँदैन भन्ने पत्रकारहरुले पार्टी नै आफूले धानेजस्तो पनि अभिव्यक्ति दिँदै आएका छन् । पार्टी नेताले चाहिँ आफूलाई अनुकूल पर्दा जुनसुकै पार्टीसँग जहिले पनि तालमेल गर्न हुने भए पनि पत्रकारहरु पार्टीको सही ठेकेदार बनेर उभिनु दुःखद् पक्ष हो ।