काठमाडौं, जेठ २७ । नेपाल पत्रकार महासंघले असारको दोस्रो सातासम्म निर्वाचन गरिसक्ने जनाएको छ ।
महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरीे २७ औं महाधिवेशनले यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने जनाएका हुन् । विज्ञप्तीमार्फत उनले मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेको पनि स्पष्ट पारेका छन् । उनले अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराएका हुन् । महासंघले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रहसमेत गरेको छ । गत वैशाख २१ गते काठमाडौंमा भएको महाधिवेशनले जेष्ठ २६ गते निर्वाचन गर्ने मिति तोकेको थियो । सदस्यता विवाद बढ्दै गएपछि निर्वाचनको कार्यतालिका समेत आउन सकेको छैन । महासंघमा देखिएको विवाद मिलाउन पार्टीनिकट पत्रकार संघसंगठनका नेताहरु लागे पनि विवाद झन् बढ्दै गएको छ ।
एउटा संगठनले अर्को संगठनका सदस्य बढी भए भनेर आरोप लगाएको छ भनें अर्काले अर्कालाई पनि त्यही आरोल लगाएको छ । कांग्रेसनिकट नेपाल प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले नेकपा ९माओवादी केन्द्र० निकट प्रेस सेन्टरले मनपरी ढंगले आफ्ना सदस्यमात्र बनाएको र अरुलाई पाखा लगाएको आरोप लगाएको छ । सेन्टरका नेता रोशन पुरी महासंघका महासचिव छन् । निर्वाचनको मुखमा शुद्धीकरणको विषय उठाइएकाले पनि विवाद झन् बढ्दै गएको छ । शुद्धीकरणको नाममा आफू निकटलाई राख्ने र अरु संगठननिकट जस्तो लाग्यो भनें नाम काट्ने काम भएको छ । कतिपय सक्रिय पत्रकार पनि शुद्धीकरणमा परेका छन् । हिजो कमजोर संगठनका रुपमा रहेको प्रेस सेन्टर अहिले एक नम्बरमा बनाइएको भन्दै अन्य संघ संगठनले आपत्ति जनाएका छन् । महासचिवले महासंघका अध्यक्ष र अरुलाई प्रभावमा पारेर आफूखुशी काम गरेको अर्को पक्षको आरोप छ । शुद्धीकरणको विषय जटील बन्दै गएपछि मतदाता नामावलीलाई अन्तिम रुप दिन सकिएको छैन । मतदाता नामावली नभएसम्म निर्वाचन कार्यतालिका प्रकाशन नगर्ने निर्वाचन समितिको अडान छ ।
धेरैजसो संघ संगठन २०७७ सालको मतदाता नामावलीमा नै गएर मतदान गर्न सकारात्मक भए पनि प्रेस सेन्टरले यसमा असहमति जनाएको छ । सेन्टरले शुद्धीकरणको नाममा अरु संगठनका पत्रकार सदस्यको नाम काटिदिएकाले उसले आफूले जित्ने सम्भावना भएको दाबी गर्दै आएको छ । पुरानै नामावलीमा फर्किँदा आफ्नो मिहिनेत खेर जाने र अरु संगठनले जित्ने भन्दै सेन्टरले पुरानै नामावलीलाई नस्विकार्ने अडान लिएको छ । केही संघ संगठनले विवाद नभएका जिल्लाका र अन्य शाखाका नयाँ सदस्यलाई पनि यस पटक मतदानको अधिकार दिन नहुने भन्दै आएका छन् । सदस्यतासम्बन्धी विवादले महासंघको निर्वाचन अन्यौलग्रस्त बनेको छ । हरेक ३ वर्षमा हुनुपर्ने निर्वाचन यसअघि २०७७ साल चैत्र २५ गते भएको थियो । केन्द्रको नेतृत्वले जेष्ठ ७ गते कार्यभार सम्हालेको थियो ।