काठमाडौं, असार २ । नेपाल पत्रकार महासंघको निर्वाचन जेठ २६ गते गर्ने भनेर वैशाख २१ गतेको केन्द्रीय महाधिवेशनले घोषणा गरेको थियो तर राजनीतिक विवादका कारण अझै पनि कहिले निर्वाचन हुने कि तत्कालै नहुने भनेर अन्यौलको अवस्था सिर्जना भएको छ ।

महासंघले अघि बढाएको शुद्धीकरण अभियानका कारण नै यो समस्या आएको भन्दा फरक पर्दैन । निर्वाचनको मुखमा आएर पत्रकार हो कि होइन भनेर छुट्याउने काम भएको छ । पत्रकारितामा राजनीति हावी भएकाले पत्रकार महासंघलाई पत्रकारको संस्थाभन्दा पनि राजनीतिक अखडा बनाइएको छ । आफूनिकटका पत्रकारलाई जस्तोसुकै अवस्थामा पनि सदस्यता दिने र फरक पार्टी लाइनका जस्तो लाग्ने पत्रकारलाई सदस्यता दिनबाट रोक्ने प्रचलनले समस्या बढ्दै गएको छ । राजनीतिक संस्था हो कि पत्रकारको संस्था हो महासंघ भन्ने विषय नै अन्यौलमा परेको छ । पत्रकारको नेता बन्न पार्टीको सिफारिसमा टिकट लिनुपर्ने भएकाले पनि उनीहरु टिकट पाउन दिनरात नेताको ‘लविङ’ मा लाग्ने गरेका छन् । चुनाव जित्न सक्ने अवस्था भए पनि नभए पनि आफूले निर्वाचन जित्ने दाबी गर्दै उम्मेदवार बन्न खोज्नेहरुको ताँती नै लाग्ने गरेको छ ।

पार्टीनिकट पत्रकार संघ संगठनहरु गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेका छन् । गठबन्धन भएपछि निर्वाचन जित्न सजिलो हुने भन्दै उनीहरु सकेसम्म आफैंले टिकट पाउनुपर्ने अडानमा छन् । उता अहिलेसम्म एक्लो अवस्थामा रहेको नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनका कारण नै अहिले सदस्यता विवाद भएको भनेर अर्को पक्षले आरोप लगाएको छ तर उसले भनें नेतृत्वले सदस्यतामा मनपरी गरेकाले सच्याउनका लागि आफूहरुले माग राखेको भन्दै आएको छ । युनियनले न्यायोचित रुपमा सदस्यताको नवीकरण गर्न र नयाँ सदस्यता दिन आग्रह गर्दै आएको छ ।

हिजोका दिनमा पत्रकारको पक्षमा काम नगरेका पनि गठबन्धनको भरमा निर्वाचन जित्छु भनेर लागेका छन् तर गठबन्धन नै भए पनि अर्को पक्षले धोका दिने हो कि भनेर पार्टी पत्रकारहरु सशंकित भएका छन् ।