
काठमाडौं । डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ । चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको हो ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारे जानकारी गराएको हो । भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँगाउँमा नेपाली सिनेमा, गाउँगाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ । फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवद्र्धनमा मद्यत पुग्ने विश्वास लिएको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ पुर्याउन मद्यत पुग्ने विश्वास व्यक्त गरे ।
यस्ता कार्यक्रमले कर्णाली प्रदेशका आम नागरिकको जीवनमा पनि आर्थिक उपार्जनका लागि माध्यम बन्ने आयोजक चोया डिजिटल सोलुसन प्रालिका अध्यक्ष राजकुमार सिलवालले बताए । उनीहरूले कर्णाली प्रदेश चलचित्र छायांकनका लागि सही र महत्वपूर्ण गन्तव्य रहेको भन्दै प्रचारप्रसारको कमी भएको बताए ।
