काठमाडौं, साउन १ । नेकपा एमालेका नेता देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री बनेका छन् । उनले हिजो मन्त्रीको शपथ लिएका छन् ।

झापाका उनी हिजोसम्म राष्ट्रियसभामा संसदीय दलको नेता रहेका थिए । लामो समयसम्म पार्टीको झापा प्रमुख रहेर काम गरेका उनी २०७६ सालमा भएको राष्ट्रियसभामा सांसद निर्वाचित भएका हुन् । राष्ट्रियसभाको तर्फबाट मन्त्री बन्ने यो सरकारमा उनीमात्रै एक्ला हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो २२ जनाको मन्त्रीमण्डल बनाएका छन् । गत फाल्गुण २१ गते बनेको सरकारमा पनि दाहाल मन्त्री बन्ने चर्चा चलेको थियो । दाहाल झापालाई आफ्नो प्रमुख राजनीतिक क्षेत्र बनाउँदै आएका छन् । उनी राष्ट्रियसभामा कोशी प्रदेशबाट निर्वाचित भएका हुन् । उनको ६ वर्षे कार्यकाल २०८२ फाल्गुण २० गते सकिँदैछ । राष्ट्रियसभाका हरेक सांसदको कार्यकाल ६ वर्षको रहने गरेको छ तर यो संविधान जारी भएपछि सबैभन्दा पहिले २०७४ साल माघ २४ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट आउने सांसदको कार्यकाल भनें गोलाप्रथाद्धारा २, ४ र ६ वर्षको कायम गरिएको थियो । यही व्यवस्था रहुञ्जेल राष्ट्रियसभामा फेरि गोलाप्रथा हुँदैन । जुन प्रक्रियाबाट निर्वाचित वा मनोनीत भएर आएका सांसद छन् उनीहरुको कार्यकाल सकिएपछि त्यही पद्धतिबाट नै निर्वाचन हुने संवैधानिक व्यवस्था छ ।

उनी २०५६ सालको उपनिर्वाचनमा झापा –६ बाट उम्मेदवार भएका थिए । एमाले नेता केपी शर्मा ओलीले झापा–२ र झापा–६ बाट निर्वाचन जितेपछि झापा–६ मा उपनिर्वाचन भएको थियो । निर्वाचनमा ओलीसँग कांग्रेसका काशिलाल चौधरीको प्रतिस्पर्धा भएको थियो । चौधरीसहित अन्य उम्मेदवारलाई ओलीले झापा–६ मा जितेका थिए । उपनिर्वाचनमा नेपाली कांग्रेसका गोपाल कोइराला निर्वाचित भए । यतिबेला एमालेका दाहाल पराजित भए । दाहाल त्यसपछिको संसदीय निर्वाचनमा पनि उम्मेदवार भएका थिए तर निर्वाचन जित्न सकेनन् ।

झापामा प्रतिनिधिसभाका ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रधानमन्त्री ओलीले ५ नम्बर क्षेत्रबाट निर्वाचन जितेका हुन् ।