काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले मन्त्रीलाई समस्या सुनाउँदै बधाई दिएका छन् ।

केही दिन काठमाडौं आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैजसो मन्त्रीलाई भेटेर आफ्ना गाउँपालिकाका जनताको समस्यासँगै त्यहाँको सम्भावनाको विषयमा मन्त्रीलाई जानकारी गराएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, शिक्षामन्त्री विद्या भट्टराईलाई पनि सिंहदरवारमा भेटेका छन् । बिहीबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई भेट्न सिंहदरवारको कार्यकक्ष पुगेका अध्यक्ष लिम्बुले गाउँपालिकाका किसानले ८–९ महिनादेखि दुधको मूल्य नपाएको गुनासो गरे । ‘मैले मन्त्रीज्युलाई बधाई दिएँ र केही गुनासा पनि राखें उहाँले सकारात्मक रुपलमा लिनुभयो र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो’ अध्यक्ष लिम्बुले भने ‘सरकारले किसानलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउनु जरुरी छ ।’

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । राजनीतिलाई समाजसेवा मान्ने उनी राजनीतिमा हुने विकृति र विसंगतिको बारेमा खुलेर नै बोल्ने गर्छन् ।