काठमाडौ, असोज १८ । प्रेसिडेन्ट विजनेश ग्रुपले बडादशैंको अवसरमा पक्कु फेस्टिवलको आयोजना गरेको छ ।

हिजो बिहीबारदेखि असोज २१ गतेसम्म फेस्टिभल आयोजना भइरहेको ग्रुपले जनाएको छ । फेस्टिभलमा आउनेको उल्लेखनीय उपस्थिति रहेको ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताए । पक्कुको स्वादसँगै हलोजुवा, मादल, बाजागाजा र पुराना प्रकारका सांस्कतिक पहिचान दिने वस्तु पनि राखिएकोले फेस्टिभलललाई थप रौनक बनाएको छ । प्रेसिडेन्टको काठमाडौंको चक्रपथमा रहेको शाखामा फेस्टिभल भइरहेको छ ।

ग्रुपका अध्यक्ष भण्डारीले पक्कु फेस्टिभल नौलो र विशिष्ट प्रकारको भएको बताए । खसीको मासुलाई विभिन्न प्रकारको मसला प्रयोग गरी केही दिनसम्म खान मिल्ने गरी विशेष प्रकारले पक्कु बनाउने गरिएको भण्डारीले बताए । उनले कमाउनभन्दा पनि मौलिक संस्कृति र परम्परा जर्गेना गर्नका लागि फेस्टिभल आयोजना गरिएको स्पष्ट पारे । ‘परम्पराको सम्मान, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण’ भन्ने मूल नाराका साथ फेस्टिभलको आयोजना गरिएको छ ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म संचालन हुने फेस्टिभलमा अनुभवी सेफले पक्कु बनाइरहेको अयोजकले जनाएको छ । १८ वर्षअघि स्थापना भएको प्रेसिडेन्टले आफ्ना १५ वटा शाखा स्थापना गरेर सेवा दिँदै आएको छ ।