
पर्सा, पौष २८ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् ।
भ्रष्टाचारको विरुद्धमा पार्टीले हिजो वीरगञ्जमा आयोजना गरेको शक्ति प्रदर्शन एवम् विरोध सभालाई सम्बोधन गर्ने क्रममा साहले अहिलेको सरकारकै संरक्षण र मिलेमतोमा देशमा भ्रष्टाचार बढिरहेको बताए । ‘यो सरकारले आफंै भ्रष्टाचारीलाई संरक्षण गरेको छ, भ्रष्टाचारीलाई जोगाउने र बचाउने काम गरेको छ’ उनले भने ‘म दाबीका साथ भन्छु यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन ।’ विभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिएको भन्दै साहले त्यस्ता घटनामा छानबिन नगर्नुले ओलीमाथि शंका गर्ने धेरै आधार भएको बताए ।
साहले भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न रहेको र ती निकायहरुलाई ओलीले संरक्षण गरिरहेको पनि आरोप लगाए । साहले वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् । वीरगञ्जको इतिहास, गौरव र सम्मान फर्काउनको लागि आफ्नो दल सधैं तत्पर रहेको उनको भनाई थियो । तत्काल वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी घोषणा नगरिए आजपाले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उनले चेतावनी दिएका छन् ।
आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरु राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, रन्जु साह, बविता साहलगायतको विशेष सहभागिता रहेको थियो ।
