
काठमाडौं, माघ ६ । रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालमा जनसंख्या कम भएर विकास हुन नसकेको बताएका छन् । रिपोर्टस क्लबमा केही दिनअघि आयोजित साक्षात्कार कार्यक्रममा धमलाले जनसंख्या बढी भएका देशहरुले विकासमा फड्को मारेको पनि बताए ।
धेरै क्यामराहरु भेला भएपछि उनले आज आफूले विशेष खुलासा गर्ने भन्दै धेरै समय भूमिका बाँधेका थिए । धमलाले नेपालमा जनसंख्या कम भएकोमा चिन्ता व्यक्त गरे । उनले जनसंख्यालाई बोझको रुपमा नलिन पनि सबैलाई आग्रह गरे । उनले छिमेकी देशहरुको उदाहरण दिँदै ती देशहरुले छोटो समयमा नै धेरै फड्को मारेको पनि स्पष्ट पारे । रिपोर्टस क्लबको बारेमा बोलेर पनि धेरै समय बिताएका उनले क्लबले सधैं जनताका पक्षमा खबरदारी गरिरहेको बताए । उनले क्लबले जस्तोसुकै असहज अवस्थामा पनि जनताको साथमा रहेर पत्रकारिता गरिरहेको भन्दै यहाँसम्म आइपुग्न सहयोग गर्नेहरुलाई धन्यवाद पनि दिए । २०५४ सालमा स्थापना भएको क्लबले हरेक चैत्र १७ गते विशेष कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएको छ । क्लबले वार्षिकोत्सवमा प्रधानमन्त्री, मन्त्रीदेखि सबैजसो दलका प्रमुख नेता बोलाएर अन्तरक्रिया गर्दै आएको छ ।
धमलाले पत्रकारहरुले निरन्तर कलम चलाएकाले भ्रष्टाचार न्यूनीकरण हुँदै गरेको पनि बताए । ‘मिडिया नभएको भए र हामीले निरन्तर खबरदारी नगरेको भए भ्रष्टाचार अझै बढ्ने थियो, हामीले निरन्तर बोलिरहेका र लेखिरहेकाले पनि नेताहरु केही डराएका छन्’ उनले भने ‘ हामी पत्रकारहरु निडर र निश्पक्ष भएर सधैं अघि बढ्नुपर्छ ।’ धमलाले यसो भनिरहँदा कार्यक्रममा आएका वत्ताm र समाचार संकलन गर्न आएका पत्रकारहरुले ताली बजाएर धमलाको भनाइको समर्थन गरेका थिए ।
