
काठमाडौं, माघ ६ । पूर्वमन्त्री तथा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको विरोध गरेका छन् । सरकार निर्माण भएको ६ महिना बितिसक्दा पनि जनताको पक्षमा काम गर्न सरकारले नसकेको भन्दै उनले सरकारको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् ।
‘सरकार बनेपछि जनतामा केही होला भन्ने आशा थियो तर सरकारले जनताको भावनाको कदर गर्न सकेन, दिनदिनै सरकार कमजोर र अलोकप्रिय बन्दै गएको छ’ उनले भने ‘जनताका समस्या एकातिर छन्, बेरोजगारी बढ्दैछ, महँगी अकाशिएको छ तर पनि सरकार नसुनेकै जस्तो गरी चलिरहेको छ ।’ रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित उनले ओलीमा सकारात्मक सोचभन्दा नकारात्मक सोच हावी भएकाले समस्या आएको पनि बताए । ‘सरकार अलोकतान्त्रिक, अप्रजातान्त्रि, अपारदर्शी, अस्थिर, अहंकारी र अराजकतातर्फ उन्मुख हुँदै गएको छ’ साहले भने ।
साहले सरकारको गलत कदमको विरुद्ध प्रतिपक्षमा रहेका दलहरु एकजु्ट हुनुपर्ने बताए । देशव्यापी रुपमा पार्टी निर्माणको पक्षमा आफूहरु लागेको भन्दै साहले सबैलाई अभियानमा साथ दिन आग्रहसमेत गरेका छन् ।
