
काठमाडौं, माघ ६ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएको कार्यक्रममा आएपछि प्रहरीलाई तनाब भएको छ ।
शुक्रबार स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इप्पान) को कार्यक्रममा ओली प्रमुख अतिथिको रुपमा आउने थाहा पाएपछि पाठक पनि त्यहीँ पुगेकी थिइन् । प्रहरीले पाठकलाई चिनेपछि हलभित्र पस्नबाटसमेत रोक्ने प्रयास गरेका थिए । ‘ म गएपछि त तहल्का नै भयो, प्रहरीले मलाई निकै ‘वाच’ गरे र म जता गए पनि अघिपछि लागिरहे’ उनले भनिन् ‘ म एकजना आउँदा प्रहरीको व्यवस्थापन नै तहसनहस भयो ।’ पाठकले ओलीसँग केही कुरा गर्नु परेकाले आएको बताइन् ।
‘बासँग केही गफ गर्नु थियो र आएकी हुँ तर बोल्नै त के नजिकबाट हेर्न पनि पाइन’ पाठकले भनिन् ‘ एक पटक त अगाडि गएर बालाई नै भेटेर कुरा के हो ? के गरेको अझै ? भन्न मन लागेको थियो तर पाइन ।’ पाठकलाई चिनेपछि प्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले उनलाई कुर्सीमा बस्न भनेर पटक पटक आग्रह गरेका थिए । पाठक बसिसकेपछि पनि प्रहरीले सबैतिरबाट उनलाई ‘वाच’ गरिरहेको थियो ।
‘बाहिर आदर्शका भाषणमात्र गरेर हुन्छ कि पार्टीका नेता पनि सधार्नुपर्छ भन्न खोजेको थिएँ, मौकै मिलेन’ उनले भनिन् ।
