काठमाडौं, माघ २० । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मध्यरातमा यो सरकारको जन्म भएकाले देश नै अन्धकारतर्फ धकेलिएको टिप्पणी गरेका छन् । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको आधारमा यो सरकार निर्माण भएको हो ।

शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले नागरिकका अधिकारमाथि प्रहार गरेको बताए । रौतहटबाठ प्रतिनिधिसभामा निर्वाचित सांसद साहले सरकारका काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको बलमा संसद्को हुर्मत लिएको टिप्पणी गरेका छन् । ओलीलाई संसदमाथि विश्वास नभएको उनले आरोप लगाए । ओलीले यसअघिको प्रतिनिधिसभा पटक पटक विघटन गर्ने प्रयास गरेका थिए । साहले ओलीलाई संसदप्रति माया नै नभएकाले जुनसुकै बेला पनि संसदीय व्यवस्थामाथि खतरा आउने बताएका छन् ।

उनले वर्तमान सरकारले जनादेशविपरीत काम गरिहेको बताए । लोकतन्त्र र जनताको हितविपरीत काम गरिरहेको सरकार पूर्णरुपमा असफल भएको उनको दाबी थियो । संसद बैठकको सुरुमा नै विशेष सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा धेरै राम्रो काम गरेको बताएका थिए । ओलीले गरेको दाबीको साहले खण्डन गर्दै ओलीलाई प्रश्नसमेत गरेका थिए ।