काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी न्यौपाने दाहालले आफ्नो कार्यकाल ऐतिहासिक बनाउने प्रतिबद्धता जनाएकी छिन् ।

२०८१ माघ ३० र फाल्गुण १ गते काठमाडौंमा सम्पन्न संगठनको १२ औं महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी उनले आफ्नो कार्यकालमा कसैले पनि केही गुनासो गर्नुपर्ने अवस्था नआउने बताइन् । ‘मैले लामो समयदेखि संगठनमा रहेर काम गरिरहेकी छु, यहाँभित्रका सबै किसिमका समस्या पनि मलाई थाहा छ त्यसलाई सम्बोधन गर्दै जाने छु’ उनले भनिन् ‘निजामती कर्मचारीप्रति हेर्ने मानिसको दृष्टिकोण पनि बदल्न जरुरी छ, हामीले जहिले पनि हामी जनताको सेवक हौं भनेर बुझ्नु जरुरी छ ।’ उनले कर्मचारीका आफ्ना केही समस्या भए पनि त्यसलाई सरकारसँग राख्नुपर्ने बताइन् । उनले कुनै पनि कारणले सेवाग्राहीले दुःख पाउनु हुँदैन भन्ने मुख्य मान्यतामा रही काम गर्न पनि सबै राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेकी छिन् ।

नवनिर्वाचित समितिले फाल्गुण ६ गते काठमाडौमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले आफूलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी दिनेहरुप्रति आभार व्यक्त गरिन् । उनले निजामती कर्मचारी संगठन सबैको साझा संस्था भएकाले राजनीतिक आस्थाका आधारमा कसैलाई विभेद नगरिने पनि स्पष्ट पारिन् । ‘जुनसुकै कर्मचारीलाई समस्या पर्दा पनि हामी बोल्छौं, कर्मचारी सबैको साझा भएकाले त्यहाँ कुन पार्टीनिकट भनेर हेरिँदैन’ उनले भनिन् ‘पछिल्लो समयमा कर्मचारीमाथि कुटपीट गर्ने र धम्क्याउने काम भइरहेको छ, यो दुःखद् कुरा हो, जुनसुकै समस्याको समाधानको लागि काुननी बाटो भएकाले अनावश्यक रुपमा कसैलाई कसैले पनि दुःख दिनु हुँदैन ।’
अध्यक्ष दाहालले ‘क्षतिपूर्तिसहितको सेवा’ आफूहरुको अभियान भएकाले यसलाई थप प्रभावकारी बनाउँदै लैजाने बताइन् । ‘कुनै कर्मचारीका कारण सेवाग्राहीले दुःख पायो र हुनुपर्ने काम पनि भएन भनें पीडित सेवाग्राहीलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने अभियान हामीले नै सुरु गरेका हौं’ उनले भनिन् ‘कर्मचारीले कामै गर्दैनन् भनेर सधैं लगाइने आरोपले कर्मचारीलाई हतोत्साहित बनाउने भएकाले यसतर्फ सोचिदिन आग्रह गर्दछु ।’ उनले नयाँ नेतृत्व सक्षम आएकाले संगठनले गति लिने पनि बताइन् । उनले आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न ढिलो भएकाले यसतर्फ चाँडै पहल गर्ने समेत जनाइन् । उनले विचौलियामुक्त प्रशासन बनाउने आफ्नो प्रमुख लक्ष्य भएको समेत स्पष्ट पारेकी छिन् ।

नयाँ संगठनको कार्यकाल तीन वर्षको रहने छ । संगठनको वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास प्रसाद साह, उपाध्यक्षमा कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विष्णुप्रसाद अर्याल, विजयालक्ष्मी सुवेदी, महासचिवमा रामचन्द्र अधिकारी (आरसी), कोषाध्यक्षमा यामकुमारी सापकोटासहित अन्य पदाधिकारी, प्रदेश, इन्चार्ज, सह–इन्चार्जसहित केन्द्रीय सदस्य रहेको नयाँ केन्द्रीय समिति चयन गरेको छ । अधिवेशनले विभिन्न चारवटा आयोगका संयोजक, सचिव र सदस्य पनि चयन गरेको छ । लेखा परीक्षण आयोगको संयोजकमा गोकर्णप्रसाद कोइराला, अनुशासन आयोगको संयोजकमा अम्बिका धमला, नीति अनुसन्धान आयोगको संयोजकमा कमलबहादुर खत्री र विज्ञान तथा प्रविधि आयोगको संयोजकमा विष्णुकुमारी अधिकारी चयन भएका छन् ।