काठमाडौं, फाल्गुण २० । प्रतिनिधिसभाका दुइवटा प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार सञ्चालन गरिरहेका भए पनि उनीहरुलाई पनि संकट आउने गरेको छ ।

हिजोका दिनमा उनीहरु दुई ठूला दल मिलेकाले अब सजिलो हुने र सरकार पनि सहज ढंगले चल्ने दाबी गर्दै आएका थिए तर समान प्रतिस्पर्धी दुई दल भएकाले एकले अर्काको चाहना बुझ्न नसक्दा सरकार पनि समस्यामा रहेको छ । भागबण्डा मिलाउने कुरामा होस् वा कतै कसैलाई नियुक्ति दिने कुरामा पनि उनीहरुले सकेसम्म आफ्नै मान्छेलाई जागिर खुवाउने प्रयास गर्दै आएका छन् । दलहरुले यो सरकार बन्ने बेलामा भनेजस्तो सहज नभएकाले यी पार्टीहरु संकटमा पर्दै आएका छन् । भित्री रुपमा जति नै समस्या भए पनि उनीहरुले बाहिर भनें खुलेर बोलेका छैनन् । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसको पूर्ण भरथेगलाई सरकारलाई सहज भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको मौनताको फाइदा प्रधानमन्त्री केपी शर्मा ओलीले मजाले उठाइरहेका छन् ।

देउवा बोलेको खण्डमा क्षणभरमे सरकार ढल्ने निश्चित छ तर गत असार १७ गते मध्यराति गरिएको सहमतिमा देउवा टिकेर बसेका छन् । सहमतिको भनाई अनुसार २०८३ को असारमा देउवा प्रधानमन्त्री हुने छन् तर ओलीको व्यवहारमा भनें शंका गर्ने प्रशस्तै ठाउहरु छन् । यसअघि पनि प्रधानमन्त्री भएका बेला ओलीले त्यतिबेलाका दलसँग गरिएको सहमति मानेका थिएनन् । ओलीले सरकार छोड्नुपरेको खण्डमा नयाँ केही कुरा ल्याएर सरकारको आयु बढाउनेमा सजिलै शंका गर्न सकिन्छ । अहिले सत्ताबाहिर रहेको नेकपा (माओवादी कन्द्र) ले तत्काल सरकारमा नजाने भन्दै आए पनि त्यो अवस्थामा देश र जनताको लागि सरकारमा गएको भनेर कांग्रेसलाई पन्छाउँदै सरकारमा नजाला भन्न पनि सकिँदैन ।

सरकारले ल्याएका केही अध्यादेश संसदबाट फेल हुने अवस्था आएकाले सरकार तनावमा छ । सरकारले सत्तासाझेदारसँग छलफल त गरिरहेको छ तर अरु पनि पार्टीको समर्थनबिना राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने भएपछि सरकार ठूलो संकटमा छ । प्रधानमन्त्री ओलीले केही दिनदेखि सबैजसो पार्टीलाई फकाउने प्रयास गरे पनि सम्भव नभएकाले ओलीलाई अहिले पर्नुसम्मको पीर परेको छ ।