
काठमाडौं, फाल्गुण २८ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले प्रहरीसँग अन्तरक्रिया गरेको छ ।
महासंघको आयोजनामा आज काठमाडौको बागबजारमा रहेको होटल हार्दिकमा भएको कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी प्रमुख अतिथि थिए । महासंघ आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले आफूलाई सहभागी गराएर अन्तरक्रिया गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरेका थिए । ‘म पनि यो क्षेत्र बुझ्ने क्रममा नै छु, तपाइहरुका समस्यालाई कानुनी रुपमा फुकाउन र सहज पारिदिन म आवश्यक भूमिका खेल्छु ’ उनले थपे ‘हामी सबैले कानुन मान्नुपर्छ, केही नीति नियमहरु अस्पष्ट छन् भनें त्यसको समाधान खोजेर अघि बढ्नु हामी सबैको दायित्व हो ।’ प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले शैक्षिक परामर्श व्यवसायीहरुमाथि पर्ने उजुरीका साथै अन्य आरोपलाई पनि कुन हदसम्म प्रहरीले हेर्ने वा नहेर्ने त्यो भने प्रष्ट हुनुपर्ने बताए ।
महासंघका अध्यक्ष राजेन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दीपकराज भुसालले गरेका थिए । अन्तरक्रियाको सहजीकरण नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराइले गरे । अध्यक्ष भट्टराइले व्यवसायी र प्रहरी मिलेर दुबै क्षेत्रमा सहज हुने गरी अघि बढ्ने बताए । ‘हामी कानुन मान्छौं र हामीलाई कानुनी दायरामा ल्याइनुपर्छ भन्ने हाम्रो नै माग हो’ अध्यक्ष भट्टराइले भने ‘कतै हामीले पनि केही गल्ती गरेका छौं भनें त्यसलाई सच्याउन हामी तयार छौं तर कसैलाई केही मन लागेको भरमा शैक्षिक परामर्श व्यवसायीलाई बद्नाम गर्ने नियत कसैले पनि राख्नु हुँदैन ।’ कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श व्यवसायीको अवस्था, सम्भावना र चुनौतीको बारेमा सविस्तार व्याख्या गरेका थिए ।
शैक्षिक परामर्श व्यावसायीका विभिन्न संघसंस्थाको पनि सहभगिता रहेको कार्यक्रममा पत्रकारले पनि व्यवसायीसँगै प्रहरीतर्फ पनि केही प्रश्न गरेका थिए । महासंघका अध्यक्ष बरालले यस प्रकारका अन्तरक्रिया आगामी दिनमा पनि गर्दै जाने बताए । ‘यस प्रकारका कार्यक्रमले हामीलाई अघि बड्न सहयोग गर्छ, अहिले आएका ‘फिडब्याक’ लाई आधार मानेर हामी भोलिको दिनमा अघि बढ्छौ ’ बरालले भने ‘तपाइले यो क्षेत्रमा जे देख्नुभएको त्यो भनिदिनुहोला, सच्याउनुपर्ने कुरा रहेछ भनें त्यो हाम्रो लागि मार्गदर्शन हुने छ ।’
पत्रकारहरुले दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, व्यवसायीले विद्यार्थी पढाउँदा मोटो रकम लिने गरेको र कतिपय अवस्थामा अलपत्र पार्ने गरेको लगायतका पश्न पनि गरेका थिए ।
