काठमाडौं, काठमाडौं चैत्र १ । ताप्लेजुङबाट फर्किएपछि आफ्ना सुरक्षाकर्मी फिर्ता गरिएकोप्रति पूर्वमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो रुष्ट भएका छन् । पाथीभरामा केबलबार बनाउने र नबनाउने भन्ने विषयमा आन्दोलन र वहस चलिरहेको बेला ताप्लेजु्ङ पुगेका महतोले स्थानीयसँग कुराकानीसमेत गरेका थिए ।

महतोले बिनाकारण आफ्नो सुरक्षाकर्मी हटाएकोमा प्रधानमन्त्रीसँग रोष प्रकट गरेका छन् । ‘ताप्लेजुङबाट फर्किएपछि सरकारले मेरा सुरक्षाकर्मीलाई फिर्ता बोलायो, के गर्न खोजेको हो अचम्म लागिरहेको छ’ महतोले भने ‘सरकार नचाहिने काममा मात्रै लागेको छ, यो सरकारले जनताको पक्षमा काम गर्छ भन्ने कसैलाई पनि विश्वास छैन ।’ महतोले केबलकार बनाउने भनेर सरकारले अडान लिनुको पछाडि केही रहस्य भएको बताएका छन् । उनले सरकारले विभिन्न आन्दोलनमा लागेकाको माग सम्बोधन गर्नेतर्फ चासो नदेखाएकोमा समेत दुःख व्यक्त गरेका छन् । ‘सरकार कुनै पनि कुरामा संवेदनशील छैन, जताततै आन्दोलन छ, समस्याको निकास लाग्नेतिर सरकार गम्भीर छैन’ महतोले भने ‘हामीले संविधान निर्माण भएदेखि नै असहमति राख्दै आएका थियौं, यो संविधानले जनतालाई न्याय दिँदैन भनेका थियौं अहिले त्यही भयो ।’ महतोले आफूहरुको पार्टीले भोलिको दिनमा गति लिने बताए । उनले सरकार विचौलियाको स्वार्थ पूरा गर्नका लागिमात्रै बनेको आरोप पनि लगाए । प्रधानमन्त्रीले भाषणमा भ्रष्टाचार गर्दिन भने पनि उनी नै भ्रष्टाचारीको कमाण्डर भएको भन्दै उनले सरकार र प्रधानमन्त्रीको विरोध गरेका छन् । गत माघमा स्थापना भएको पार्टीले पछिल्लो समयमा गति लिएको भन्दै महतोले राष्ट्रिय मुक्ति पार्टीले मात्रै देशको सम्पूर्ण समस्याको निकास दिने बताए । उनले विभिन्न पार्टी छोडेर आफ्नो पार्टीमा आउनेको संख्या बढ्दै जानु खुशीको कुरा भएको बताए ।

अध्यक्ष महतोले ३५ वर्षसम्म शासन गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले देशको अवस्था बिगारेको बताए । उनीहरुले अब पनि देश चलाउन सक्दैनन् भन्ने आफ्नो ठहर भएको भन्दै उनले निकासका लागि आफ्नो पार्टी नै अन्तिम विकल्प भएको बताए । निर्वाचन आयोगमा दर्ता भएर अघि बढेको पार्टीको चुनाव चिन्ह तीरधनुष रहेको छ । पार्टीले वैशाखमा संगठन विस्तारको योजना बनाएको छ । पार्टीले विभिन्न पाटीसँग एकता गर्ने योजना पनि बनाएको छ, जसका लागि रामनरेश रायलाई संयोजक तोकेको छ ।