

काठमाडौं,चेत्र २४ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले अब फेरि पनि राष्टकै लागि योगदान गर्ने बताएका छन् । विद्युत् प्राधिकरणमा रहँदा ३० वर्षसम्म नै देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै आएका उनले जनताको चाहना अनुसार आफू अघि बढ्ने बताएका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट उर्जामन्त्री दीपक खड्काले हटाउपछि न्यायको लागि सर्वोच्च अदालत पुगेका घिसिङलाई अदालतले अन्तरिम आदेश नदिएपछि उनी फुर्सदिला बनेका छन् । आफूले राम्रो काम गर्दै आउ पनि त्यसको मूल्यांकन गर्न सरकारले नसकेको भन्दै उनले गुनासो गरेका छन् । कार्यकाल सकिन साढे ४ महिनामात्रै बाँकी रहँदा हटाइएका उनको पक्षमा जनमत झन् बढ्दै गएको छ भनें उनलाई हटाएकोमा सरकारप्रति मानिसले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनके कार्यकाल आगामी साउन २७ गते सकिँदै थियो । मन्त्री खड्काले उनलाई हटाउन विभिन्न आरोपहरु लगाएका थिए । मन्त्रीले सोधेका हरेक प्रश्नको जवाफ दिए पनि अन्तिममा आएर कुलमान हटाइए । लामे समयदेखि लोडसेडिङको मारमा परेको नेपालका लागि भनें कुलमान ‘बिजुलीपिता’ नै भइदिएका छन् तर उर्जामन्त्री खड्काले भनें कुलमानले गर्दा नभई भारतको सहयोगले नै नेपालमा लोडसेडिङ अन्त्य भएकाले त्यसको जस भारतलाई दिनुपर्ने बताएका छन् । घिसिङको ठाउँमा सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको छ ।
कुलमानलाई हटाइएको विरोधमा प्रतिनिधिसभा र राष्ट्रियसभामात्रै होइन प्रदेशसभा पनि अवरुद्ध भएको थियो । सुरुमै नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा सरकारको जवाफ मागेपछि बिस्तारै राष्ट्रियसभामा पनि सरकारको जवाफ मागिएको थियो । प्रधानमन्त्री केपी शर्माले भनें कर्मचारी हटाउने र राख्ने सरकारको कार्यक्षेत्रभित्रको विषय भएको भन्दै यसलाई अनावश्यक रुपमा नउचाल्न सांसदहरुलाई आग्ह गरे पनि जवाफ नआउन्जेल संसद बैठक चल्न नसकेपछि अन्तिममा जवाफ दिन ओली बाध्य भए । माओवादीले कुलमानको पक्षमा बढी ‘लविङ’ गरेको छ । अब उनी माओवादीमा नै प्रवेश गरेर राजनीति गर्छन् कि चुपचाप बस्छन् भन्ने मानिसको चासो भइरहेका बेला उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अबको समय जिम्मेवार नागरिकको हैसियतमा जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए । उनको यो भनाइबाट उनी अब चुपचाप बस्दैनन् भन्ने बुझ्न सकिन्थ्यो । उनलाई पार्टीमा प्रवेश गराउन र भोलिको दिनम संसदको टिकट दिन जुन पार्टी पनि तयार छन् तर उनी अहिले नै कुनै पार्टीमा जान्छन् कि जाँदैनन् भन्नेचाहिँ अझैसम्म प्रष्ट छैन । पत्रकार सम्मेलनमा उनले सरकारले आफूमाथि गरेको व्यवहारप्रति जनता जानकार रहेको पनि बताए ।
‘नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैँ जानकार छन्’, कुलमानले भने, ‘आम उपभोक्ता, सर्वसाधारणले मप्रति देखाउनुभएको माया, प्रेम र विश्वास मेरा प्रेरणाका स्रोत हुन् ।’ पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा गरेका काम–कारबाही समेटेर नौ पेज लामो विज्ञप्ति बाचन गरेका थिए । पत्रकारहरुले तपाईंको भावी रणनीति के हो ? आगामी दिनमा राजनीति गर्ने कि नगर्ने ? गरे कुन पार्टीबाट गर्ने ? जस्ता प्रश्न गरेका थिए । उनले भने ‘ राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’
कुलमानले विद्युत्को बक्यौता उठाउने अभियान नै चलाएका थिए । लामो समयदेखि उद्योगी व्यवसायीले तिर्न अटेर गर्दै आएको बक्यौता उठाउने निर्णय गरेर प्रक्रियामा अघि बढेपछि सुशासन र सदाचारिताको नारा लगाउने प्रधानमन्त्री ओली भनें कुलमानसँग रुष्ट बनेका थिए । ‘राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाका साथ पुरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्नेगरी विगतबाटै प्रत्यक्ष–अप्रत्यक्ष चौतर्फी प्रहारका प्रयास भएका थिए’, कुलमानले भनेका छन्, ‘मलाई कमजोर बनाउन आगामी दिनमा समेत सोही किसिमका प्रहार हुनेमा म सतर्क र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु ।’ कुलमान पार्टीको राजनीतिमा लाग्छन् कि स्वतन्त्र नै भएर बस्छन् उनले यसबारे प्रष् बोलेका छैनन् ।
