
न्युयोर्क, अप्रिल १५ – आउँदो मे १८, २०२५ मा अमेरिकाको न्युयोर्क सहरको म्यानहट्टनमा भव्य रूपमा आयोजना हुन गइरहेको नेपाल डे परेडको तयारीलाई तीव्रता दिइएको छ। परेडलाई सफल, सभ्य र शानशौकतपूर्ण ढंगले सम्पन्न गर्नका लागि NYPD (New York Police Department) का अधिकृतहरूसँग परेड आयोजक समितिको विशेष छलफल सम्पन्न भएको छ।
परेड सुरक्षाको संयोजन र व्यवस्थापनका लागि NYPD ले तोकेको अधिकृत Sergeant Lavine सहित विभिन्न शाखाका प्रमुखहरूसँग समितिका प्रतिनिधिहरूबीच विस्तृत छलफल गरिएको हो। छलफलमा नेपाल डे परेड २०२५ आयोजक समितिका संस्थापक अध्यक्ष लुइसाङ वाइबा, परेड संयोजक मनिता गुरुङ, NRNA न्युयोर्कका कार्यवाहक अध्यक्ष तथा परेड अध्यक्ष छिरिङ शेर्पा, सचिव राजु तामाङ, आर्थिक संयोजक कृष्ण आचार्य, साथै अन्य समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
छलफलमा परेडको सम्पूर्ण व्यवस्थापन, सुरक्षा, ट्राफिक सञ्चालन, सहभागीहरूको लाइनअप, सांस्कृतिक झाँकीहरूको व्यवस्थापन लगायतका विषयहरूमा गहन छलफल गरियो। NYPD ले परेडको आधिकारिक रुट समेत आयोजक समितिलाई हस्तान्तरण गरेको छ, जसअनुसार परेड म्यानहट्टनको निर्धारित मार्ग हुँदै सम्पन्न गरिनेछ। परेडको ऐतिहासिक महत्व, अपेक्षित भीड तथा न्यूयोर्क सहरका व्यस्त सडकलाई मध्यनजर गर्दै आयोजित उक्त बैठकमा परेड मार्ग, सडक बन्द हुने समय, सुरक्षाकर्मीहरूको तैनाथी, आपतकालीन योजना, स्वयंसेवकहरूको भूमिका लगायतका महत्वपूर्ण विषयमा पनि छलफल भएको छ ।
NYPD का अधिकारीहरूले परेडको शान्तिपूर्ण र व्यवस्थित सञ्चालनका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्। साथै, विशेष अतिथि तथा विदेशी पाहुनाहरूको सुरक्षाका साथै भीड व्यवस्थापनमा थप सतर्कता अपनाइने जानकारी गराइएको छ।
समितिका संयोजक मनिता गुरुङले यस पटकको परेडमा नेपाली पहिचान, संस्कृति, भाषा, भेषभूषा र विविधतालाई अझ भव्य रूपमा प्रस्तुत गरिने बताइन्। साथै, आयोजक समितिका अध्यक्ष छिरिङ शेर्पाले परेडमा न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायको ऐक्यबद्धता र गौरवपूर्ण सहभागिता देखिने विश्वास व्यक्त गरे।
संस्थापक अध्यक्ष लुइसाङ वाइबाले भने – “नेपाल डे परेड केवल सांस्कृतिक कार्यक्रम मात्र नभई, यसले प्रवासमा रहेका नेपालीहरूको पहिचान, एकता र गौरवलाई विश्व सामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हो।”
यसपटकको नेपाल डे परेडलाई ऐतिहासिक र सन्देशमूलक बनाउनका लागि आयोजक समितिले सम्पूर्ण नेपाली समुदायलाई अग्रिम निम्तो दिएको छ, साथै सबै पक्षलाई सहकार्य र सहयोग गर्न आग्रह गरेको छ।
नेपाल डे परेड — NYPD सँग प्लानिङ मिटिङ
मिति: ०४|१५ |२०२५
मिटिङ एजेन्डा :
१. स्वागत र परिचय
• नेपाल डे परेड समिति सदस्यहरू
• NYPD अफिसरहरू
२. परेडको संक्षिप्त जानकारी
• नेपाल डे परेडको इतिहास र महत्व
• सहभागी र दर्शकको अपेक्षित संख्या
• परेडको मिति, समय र मार्गको जानकारी
३. परेड मार्ग र सडक बन्द व्यवस्था
• प्रस्तावित मार्गको नक्सा प्रस्तुति
• सडक बन्द हुने समय र स्थान
• अवरोध र ट्राफिक व्यवस्थापन योजना
४. सुरक्षा व्यवस्था र NYPD को भूमिका
• NYPD को तैनाथी योजना
• आपतकालीन प्रतिक्रिया योजना
• भिड व्यवस्थापन र प्रवेश/निर्गमनको व्यवस्थापन
५. अनुमति पत्र (Permits) र कागजातहरू
• परेड, साउन्ड सिस्टम लगायत अन्य अनुमति स्थिति
• NYPD का नियम र निर्देशनहरूको जानकारी
६. सामुदायिक स्वयंसेवक र समन्वय
• स्वयंसेवकहरूको भूमिका
• परेडका दिन सम्पर्क र समन्वय प्रक्रिया
७. विशेष अतिथि तथा सम्मानित व्यक्तित्वहरू
• उनीहरूको सुरक्षाको व्यवस्था
• VIP बस्ने स्थान र स्कट व्यवस्थापन
८. अन्य विविध विषयहरू
• सरसफाइ तथा परेडपछिको व्यवस्थापन
• स्वास्थ्य सहायता तथा फर्स्ट एड व्यवस्था
• हराएका तथा फेला परेको वस्तु व्यवस्थापन
९. प्रश्नोत्तर तथा खुला छलफल
