
न्युयोर्क, अमेरिका – तामाङ समाज उत्तर अमेरिकाले स्थापना गरेको Global Tamang Education Fund – 2020 ले आफ्नो मूल उद्देश्यभन्दा बाहिर गएर पनि समाज सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। हालै मात्र आर्थिक अभावका कारण कलेजबाट निष्कासनको अवस्थामा पुगेका चारजना नेपाली तामाङ विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरिएको छ, जसले उनीहरूको भविष्य अन्धकारमय बन्नबाट जोगिएको छ।
समाजका उपाध्यक्ष अनु तामाङको संयोजकत्वमा हेल्प डेस्क गठन गरी सहयोगको आवश्यकता परेको वास्तविकता अध्यन गरिएको थियो। अनुसन्धान पश्चात आर्थिक रुपमा अत्यन्तै पीडित ठहरिएका विद्यार्थीहरू – रोशन तामाङ, श्रीया लामा, ओशिन तामाङ, र अमिशा मोक्तान – लाई सहयोग प्रदान गरिएको हो।
समाजका अध्यक्ष मोहन वाइबाका अनुसार, “शिक्षा पैसाको कारण गुमाउनु नपरोस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो। पीडामा परेका आफ्ना विद्यार्थीहरूलाई साथ दिनु हाम्रो सामाजिक दायित्व हो। यिनै मूल्य र भावना अनुरूप सहयोग गर्ने निर्णय गरिएको हो।”
यस अभियानको सुरुवात २०२० मा संस्थापक अध्यक्ष लक्यान लामाको नेतृत्वमा भएको थियो। “Coming together is a beginning, keeping together is progress, working together is success. Let’s unite all Tamang” भन्ने मूल नाराका साथ सुरु गरिएको Global Tamang Education Fund – 2020 ले एक लाख डलर संकलन गर्ने लक्ष्य राखेको थियो। यो कोष तीनवटा मुख्य उद्देश्यका लागि स्थापित गरिएको थियो:
1. छात्रवृत्तिका लागि (Scholarships)
2. शैक्षिक तालिम (Educational Training)
3. लोकसेवा तयारी कक्षा (Public Service Exam Preparation Classes)
तर हालको विसम परिस्थितिलाई मध्यनजर गर्दै, समाजले कोषको प्रयोग उद्देश्यभन्दा बाहिर गएर आफ्ना विद्यार्थीहरूको आपतकालीन सहायता गर्ने निर्णय गरेको आकलन गर्न सकिन्छ ।
यो कदमले केवल कोषको सदुपयोग भएको प्रमाणित मात्र गरेन , बरु तामाङ समाजको एकताको भावना, सामाजिक उत्तरदायित्व र मानवीय सेवामा प्रतिबद्धता पनि उजागर गर्यो।
समाजले आगामी दिनमा पनि यस्ता सामाजिक र शैक्षिक उद्देश्यमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।
