
काठमाडौं । पत्रकार फणिन्द्र लामिछानेको ‘गाउँ आएको मोटरबाटो’ उपन्यासको काठमाडौंमा लोकार्पण गरिएको छ ।
पुस्तक लोकापर्ण समारोहमा मणि लोहनीले स्थानीय पुर्नजागरणको कथामा देशमै गर्न सकिने सम्भावनाहरुलाई पुस्तकले उजागर गरेको बताए । ‘मलाई यो किताब किन मन परेको छ भने अहिले जहाँ गए पनि नेपाललाई गाली गर्ने, यो देशमा केही भएन भन्ने, निरासा व्यक्त गर्ने मान्छेको भीड व्याप्त छ । हरेक दिन मान्छे विदेश गइरहेका छन् । यस्तो बेलामा देशभित्रै केही छ, देशमै केही गर्नुपर्छ, र गर्न सकिन्छ भन्ने जुन किसिमको सम्भावनामाथि लेखकले विश्वास गर्नुभएको छ यो किताबमा योचाहिँ पढ्न पाइन्छ’ लोहनीले भने ।
उपन्यासले गाउँ फर्कनुपर्छ भन्ने आभास दिलाउने जीवन आलेले बताए । ‘लेखकलाई म अत्यन्तै उत्साही, सहासी, अरूको भन्दा अलि भिन्न सोच राख्ने, अलि पृथक दृष्टिकोण राख्ने व्यक्तिको रुपमा चिन्छु’ आलेले भने । कार्यक्रममा अन्य अतिथिहरुले समेत शुभकामना सन्देश दिएका थिए । इन्जिनियर दिपक कुमार साहले परिवर्तनलाई आत्मसाथ गर्न यो पुस्तकले केही महत्वपूर्ण भूमिका खेल्ने बताए ।
स्थानीय स्तरमा पुर्नजागरणको कथा बोकेको उपन्यासले युवाहरुलाई गाउँ फर्किएर विकासमा लाग्न प्रेरित गर्न खोजेको लेखकले बताएका छन् । पुस्तान्तरण नै रोकिएका गाउँहरुमा पुर्नजागरणसहित विकास र समृद्धिको कुरालाई आत्मसाथ गर्न पुस्तकले प्रेरित गरेको छ ।
यस पुस्तक बिक्रीबाट प्राप्त हुने आम्दानी ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान दिने उद्येश्यले प्राविधिक कलेज स्थापनामा खर्च गरिने आयोजक चक्रपाणि लामिछाने प्रतिष्ठानले जनाएको छ ।






