प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाको भदौ १२ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको बताए । ‘प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने ।
प्रश्न गर्ने सांसदले लिखित प्रश्न संघीय संसद सचिवालयमा बुझाउनुपर्ने हुन्छ । सांसदले भदौ ८ गते शुक्रबार अपरान्ह ३ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने सभामुख घिमिरेले बताए । सांसदले सोधेका प्रश्नको आधारमा प्रधानमन्त्रीले जवाफ दिने छन् ।

