बिहीबार, ६ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

सामाजिक क्षेत्रमा सक्रिय आचार्य कांग्रेसको गौरादह सभापतिको उम्मेदवार

admin
admin

काठमाडौं । नेपाली कांग्रेसको झापा गौरादहको नगरको नेतृत्वका लागि इन्जिनियर भानु आचार्यले सभापति पदमा उम्मेदवारी अघि सारेसँगै गौरादहको आन्तरिक राजनीतिमा नयाँ पुस्ताको प्रवेश भएको छ ।

पार्टी संगठनलाई थप गतिशील बनाउने, युवाको सहभागिता बढाउने र नयाँ सोचका साथ कांग्रेसलाई अघि बढाउने उद्देश्यसहित आफू नगर सभापति पदको उम्मेदवारका रूपमा अघि बढेको आचार्यको भनाइ छ । राजनीतिसँगै सामाजिक तथा युवा अभियानमा समेत सक्रिय रहँदै आएका आचार्यले गौरादह जेसीज, लायन्स क्लब अफ युनाइटेड गौरादह तथा सारथी क्लबमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । ती संस्थामार्फत सामाजिक सेवा, युवा परिचालन तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएको उनको अनुभवलाई अहिलेको राजनीतिक यात्रामा समेत उपयोगी आधारका रूपमा हेरिएको छ ।आचार्यको उम्मेदवारीलाई समर्थकहरूले गौरादह कांग्रेसको नेतृत्वमा युवापुस्ताको दाबीका रूपमा व्याख्या गरेका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका युवा पुस्तालाई पार्टी नेतृत्वमा स्थापित गर्नुपर्ने आवाज उठिरहेका बेला आचार्यको उम्मेदवारीले नगर अधिवेशनलाई थप रोचक बनाउने देखिएको छ । आचार्यले पार्टीभित्रको आन्तरिक एकता कायम गर्दै संगठनलाई वडा तहसम्म थप मजबुत बनाउने, युवा तथा नयाँ पुस्तालाई पार्टीसँग जोड्ने र कांग्रेसका संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

गौरादह जेसीज, लायन्स क्लब अफ युनाइटेड गौरादह र सारथी क्लबजस्ता संस्थामा जिम्मेवारी सम्हाल्दा प्राप्त संगठनात्मक तथा सामाजिक अनुभवलाई पार्टी संगठन निर्माणमा जोड्ने उनको भनाई छ । आचार्य विद्यार्थी राजनीतिमा सक्रिय रहेका बखत पुल्चोक इञ्जीनियरिङ क्याम्पसका एक सशक्त नेताका रूपमा आफूलाई स्थापित गरेका ब्यक्ति हुन । उनले युवा पुस्तासँग प्रत्यक्ष संवाद र सामाजिक गतिविधिमा सक्रियताको अनुभवलाई राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा अघि सारेका छन् ।

उनको उम्मेदवारीसँगै गौरादह नगर कांग्रेसको आगामी नेतृत्वका विषयमा राजनीतिक बहससमेत सुरु भएको छ । नगर सभापतिको निर्वाचनमा विभिन्न समूह तथा आकांक्षीहरूबीच प्रतिस्पर्धा हुने देखिएपछि कांग्रेसको स्थानीय राजनीति थप तात्ने संकेत देखिएको छ । आचार्यको उम्मेदवारीलाई ‘नयाँ पुस्ताको उदयका रूपमा हेरिएको छ । अब उनको उम्मेदवारीले पार्टीका पुराना पुस्ता, युवा कार्यकर्ता र नगरस्तरको संगठनमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी निर्वाचनको परिणामसँगै स्पष्ट हुने छ ।

नेतृत्व चयन भने कांग्रेसको आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट हुने भएकाले अन्तिम निर्णय निर्वाचनबाटै हुने छ । कांग्रेसको नगर अधिवेशन आज हुँदैछ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्