प्रधानन्यायाधीश र न्यायाधीशले भूकम्पपीडितलाई सहयोग गर्ने
काठमाडौं, कात्तिक २२ । सर्वोच्च अदालतले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो । यही कात्तिक १७ गते शुक्रबार राति भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको थियो ।

त्यसपछि निरन्तर गएका पराकम्पले पनि केही क्षति भएको छ ।
बैठकले उच्च अदालतका न्यायाधीशको पाँच दिन, जिल्ला अदालतका न्यायाधीशको तीन दिन, राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका अधिकृतको तीन दिन, अन्य अधिकृतस्तरका कर्मचारीको दुई दिन र सहायकस्तरका कर्मचारीको एक दिन बराबरको तलब स्वेच्छिकरूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकपछि सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको उल्लेख छ ।

