नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै
काठमाडौं, ३ पौष । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा आगामी राष्ट्रियसभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए । विशेष गरी आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचन र आगामी १६ पुसमा समापन हुन लागेको पार्टीको अभियानका विषयमा बैठकमा छलफल हुने उनको भनाई छ । अभियानको समीक्षाका लागि केन्द्रीय समितिको बैठक बोलाउने मिति यो बैठकले तय गर्ने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एक वर्ष पुगेकाले त्यसको समीक्षा पनि हुने पार्टीले जनाएको छ । प्रचण्ड पौष ११ गते प्रधानमन्त्री बनेका थिए ।

