बालबालिकाको सहयोगका लागि डिलाइट च्यारिटी कन्सर्ट–२०२४ सम्पन्न
काठमाडौं, साउन २१ । डिलाईट हेरिटेज म्यूजिक र जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले संयुक्त रुपमा विभिन्न संस्थामा रहेका अनाथ दृष्टिबिहीन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि डिलाइट च्यारिटी कन्सर्ट २०२४ सम्पन्न गरेको छ ।
काठमाडौंको ठमेलको एलफ्ट होटलमा गरिएको कन्सर्टमा डिलाइट म्यूजिक स्कूलका विद्यार्थीहरुले आफुले सिकेको सांगीतिक कला प्रस्तुत गरेका थिए । डिलाइट ब्याण्डका साथै त्रि–नेत्र फाउण्डेशन, सेन्टर फर डिजावेल्ड चिल्ड्रेन एशोसिएसन, बोदिचित्र डेभलपमेन्ट सोसाईटी, बज्र अर्य फाउण्डेशन, नग्री वेलफेयर सोसाईटी, स्टुडेन्ट फर सिक्स अर्फनगेस, क्वार्टेट लगायतबाट सहभागी बालबालिकाले आफूले सिकेका कला च्यारिटी कन्सर्टमा प्रस्तुत गरेका थिए ।
कन्सर्टमा सहभागी बालबालिकाहरुले राष्ट्रिय गानबाट आफ्नो प्रस्तुति सुरुवात गरेका थिए । च्यारिटी कन्सर्ट हेर्न आएका आम दर्शकलाई बालबालिकाहरुले पीरैपीर, असारे महिनामा, कलिलो तामालाई, शिरमाथि, तिरिरी मुरली, मंगोल धुन, हेर न हेर कान्छा, फूलको आँखामा, रेशम फिरीरी, कलकते काईयो, कति बस्छौ माईतीकै कौशीमा लगायतका विभिन्न सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए । यसका साथै विभिन्न संस्थामा आबद्ध रही बालबालिकालाई संगीत सिकाईरहेका शिक्षकहरुले संयुक्त रुपमा ‘हे कान्छी मलाई सुनको तारा’ र ‘मोहनी लाग्ला है’ बोलको गीतमा प्रस्तुति दिएका थिए ।
शिक्षाको अभाव झेलेका दुर्गमका दृष्टिविहीन बालबालिकाहरुलाई सांगीतिक अभ्यास गराउँदै आएको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले विगत चार वर्षदेखि नेपालमा रहेको टिपिकल वाद्यवादन अन्तर्गत मादल, तवला, गिटार, सारङ्गी, हार्मोनियम, पीएनो, जाइलोफोनलगायतका सिप सिकाउँदै आएको छ । ब्रम्हकुमारी मार्ग, ज्याठा ठमेल काठमाडौमा रहेको डिलाईट म्यूजिक स्कुलले पीएनो, सारङ्गी, सेक्सोफोन, गीटार, मादल, बाँसुरी, वेस्टन फ्लुटलगायतका विभिन्न वाद्यबादनहरु सिकाउँदै आईरहको छ । ताइवानी नागरिक जेवेल चिएङले स्थापना गरेको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरबाटै उक्त सांगीतिक कक्षाहरु सञ्चालन हुँदै आएको छ । उक्त केयर सेन्टरका फाउण्डरसमेत रहेकी चिएङकै सम्पूर्ण सहयोगमा विभिन्न जिल्लाका १ सय २५ भन्दा बढी असाहय दृष्टिबिहीन बालबालिकाहरुले वाद्यवादनसम्बन्धी सबैखाले सिप सिक्दै आएको डिलाइट एक्सप्लोरिङ हेरिटेज म्युजिककका कार्यकारी अधिकृत राजेश गुरुङले बताए । गुरुङले देशभर विभिन्न ठाउँबाट आएका दृष्टिविहीन बालबालिकाहरुलाई विगत तीन वर्षदेखि संगीत तथा वाद्यवादन सिकाउनका लागि आवश्यक खर्चको व्यवस्था ताइवानी नागरिक जेवेल चिएङले गर्दै आएको बताए ।
सांगीतिक कार्यक्रममा भाग लिँदा उनीहरुले आर्थिक सहयोग, सम्मान तथा पुरस्कार समेत पाउने गरेको गुरुङले बताए । सो कक्षा सञ्चालनका लागि शिक्षकको व्यवस्था ताइवानी नागरिक चिएङले व्यवस्था गरेका छन् भने उनले नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

