विहादी गाउँपालिकाद्वारा गोरु पाल्ने किसानलाई अनुदान
काठमाडौं, पौष २१ । पर्वतको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही १० हजार रुपैंयाका दरले अनुदान प्रदान गरिएको गाउँपालिका अध्यक्ष परविन गुरुङले बताए ।
यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सहिने भएकाले उनीहरूलाई अनुदान दिइएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रुपमा काठको हलो, जुवा, लिड्को प्रयोग गरेर खेती गर्दै आएका छन् । ६ वटा वडा रहेको विहादीमा वडा नम्बर १ बाच्छाका सात जना, वडा नम्बर २ बर्राचौरका १३ जना, वडा नम्बर ३ रानीपानीका छ जना, वडा नम्बरं ४ वहाकीका एक जना, वडा नम्बर ५ उरामपोखराका १२ जना र वडा नम्बर ६ शालिग्रामका सात जना किसानलाई अनुदान रकम प्रदान गरिएको हो ।
यसअघि विहादी गाउँपालिकाले प्रजननका लागि राँगा पाल्ने कृषकलाई १० हजार रुपैंयाँ अनुदान र स्थानीय जातका गाई पाल्ने कृषकलाई सुत्केरी भत्ता तथा प्रोत्साहन रकम प्रदान गरेको थियो । यसैगरी, व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्ने कृषकलाई प्रतिगाई वा भैँसी २० हजार रुपैंयाँका दरले अनुदान दिइएको छ । अध्यक्ष गुरुङले गाउँपालिकाले किसानमैत्री नीति लिएको बताए । उनले आफू जनताको प्रतिनिधि भएकाले जनतालाई सहज हुने प्रकारका कार्यक्रम ल्याउने प्रयास गरिरहेको बताएका छन् । उनले सबैको सल्लाह र सुझावलाई आधार मानेर गाउँपालिकालाई उत्कृष्ट बनाउने आफ्नो योजना रहेको बताए ।

