जिल्ला प्रशासन कार्यालय चितवनद्धारा औषधी पसलमा अनुगमन
हरि आचार्य र खुशमाया काउचा
चितवन, साउन ९ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबीसकोठीका औषधि पसलमा सोमबार अनुगमन गरेको छ ।
गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयका नायव सुव्वा (नासु) विश्वास श्रेष्ठको टोलीले औषधि पसलहरुको अनुगमन गरेको थियो ।
स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख जयराम दुवाडी, प्रहरीलगायतका टिमले अनुगमन गरेको थियो । चौबीसकोठीका औषधि पसलहरुले औषधि खरिद गर्नेको नाम नै उल्लेख नगरी बिल जारी गर्ने गरेको अनुगमनका क्रममा पाइएको छ । जुन बिल जारी गर्दा औषधिको ब्याच नम्बर र म्याद सकिने अवधि उल्लेख गर्नुपर्नेमा कसैले पनि सो पालना गरेको नपाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सोमबार १० वटा पसलमा अनुगमन गरिएको थियो ।
पसलको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने रिजन फार्मेसीका सञ्चालकलाई प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको नासु श्रेष्ठले जनाए । कतिपय फार्मेसीले बिल काट्दा औषधि खरिद गर्नेको नाम नै उल्लेख नगरेको समेत पाइएको छ । ‘केही पसलमा औषधि बेच्न बस्नेले अनुमतिपत्र देखाउन सकेनन्’ नासु श्रेष्ठले भने । जिल्ला प्रशासनले निरन्तर अनुगमन गरिरहने पनि जनाएको छ ।

