आरजुलाई माला लगाइदिन तछाडमछाड, कार्यकर्ताले भने ‘ आरजु भाउजु जिन्दावाद’
काठमाडौं, साउन १० । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा मंगलबार मधेश प्रदेशको यात्रामा निस्किइन् ।
केन्द्रीय समितिको बैठक मंगलबार बसेको थिएन । जनकपुरमा एक रात बसेर सर्लाहीको धनकौल गाउँपालिकामा पार्टीले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनी बुधबार दिउँसो पुग्दा माला लगाउन तँछाडमछाड गर्नेहरुको घुँइचो लागेको थियो । यसले गर्दा पार्टीमा शेरबहादुर देउवाको क्रेज अझै रहेको सजिलै बुझ्न सकिन्थ्यो । धेरैले आरजुलाई दिदी नभनेर ‘आरजु भाउजु’ भन्ने गर्छन् । कहिलेकाहीँ उनी आरजु भाउजुको नाममा आलोचित पनि हुने गरेकी छिन् । हिजोको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मात्र होइन स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार बनाउने कुरामा आरजुले हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ ।
सर्लाही ४ मा पर्ने यो गाउँपालिकामा आरजुलाई माला लगाइदिन कांग्रेसका प्रदेश सांसद जंगीलाल राय, जिल्ला सभापति सुरेन्द्र सिंह, कांग्रेस जिल्ला सचिव निरज कार्की, जिल्ला पूर्व सभापति नागेन्द्र यादवलगायत लाइनमा थिए ।

मालाले आरजु पुरिँदै गर्दा नारा लाग्यो, ‘आरजु भाउजु जिन्दावाद,आरजु भाउजु जिन्दावाद ।’ लगातार त्यही नारा गुन्जिइरह्यो । कतैकतै ‘नेपाली कांग्रेस जिन्दावाद’ भनेको पनि सुनियो । यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले प्रतिनिधिसभाको निर्वाचन जितेका छन् । कांग्रेसले उनलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार भएका थिए । २०७४ सालमा उनले यही क्षेत्रबाट निर्वाचन जितेका थिए ।
आरजुकै साथमा मधेश प्रदेशका कांग्रेस सभापतिसमेत रहेका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादव पनि आएका थिए । नारा र मालामा सजिएकी आरजुले मधेसमा अर्को साल टन्नै बजेट छुट्याउने बाचा गर्न गरिन् । उनले सभामा थुप्रै आश्वासन पनि बाँडिन् ।

