काठमाडौं, साउन ११ । महिला विश्वकप फुटबल प्रतियोगितामा भियतनामविरुद्ध २ गोल गर्दै आज पोर्चुगलले जित हात पारेको छ ।
न्यूजिल्याण्डको ह्यामिल्टनस्थित एफएमजी स्टेडियममा भएको खेलमा पोर्चुगल विजयी भएको हो । पोर्चुगलका लागि खेलको सातौं मिनेटमै तेल्मा इन्कारनाकाओले गोल गर्दै अग्रता दिलाइन् । २१ औं मिनेटमा फ्रान्किस्का नाजारेथले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारिन् । पहिलो खेल हारेको पोर्चुगल आजको खेल जितेपछि अघिल्लो चरण प्रवेशको सम्भावना कायम राखेको छ । समूह ई मा दुई खेल खेलिसकेका अमेरिका र नेदरल्याण्ड्स समान २ अंकसहित तालिकामा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।