सामाखुशीमा खोलामा परेका १३ वर्षिय बालकको शव दक्षिणकालीमा भेटियो
काठमाडौं, साउन १८ । साउन ७ गते काठमाडौंको सामाखुशीको खोलामा परेर बेपत्ता भएका बालकको शव आज काठमाडौंको दक्षिणी भेगमा रहेको दक्षिणकालीमा भेटिएको छ ।
सामाखुशी खोलाको बाढीमा परेएका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । ढुंगेलका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो ।
स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो ।

