नाटक घर बनाउन एउटा इट्टा माग्दै क्षितिज नाट्य प्रतिष्ठान
काठमाडौं । विर्तामोड–१ झापामा रहेको क्षितिज नाट्य प्रतिष्ठानले झापामा नाटक घर बनाउन एक थान इट्टा माग्ने अभियान सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले सबैसँग कम्तीमा एक थान इट्टा सहयोग मागिएको बताए । प्रतिष्ठानले ४ वर्षअघि सुरु गरेको यो अभियानबाट झण्डै २ करोड रुपैंयाँ बराबर संकलन भएको छ । प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कल्पितले नाटक घर निर्माणका लागि सडकदेखि सदनसम्म एक थान इट्टा माग्ने अभियान चलाइएको बताए । २०५८ सालमा मेचीको पाँचथरमा स्थापना भएको प्रतिष्ठानले केही जग्गा पनि पाएको छ । झण्डै एक बिगाहा जग्गा भए आफूहरुले चाहेजस्तो भवन बनाउन सकिने अध्यक्ष कल्पितको भनाई छ । अहिले प्रतिष्ठानसँग ३ कठ्ठा ७ धुरमात्र जमिन रहेको छ ।
बहुजाती, बहुभाषी, बहुसांस्कृति संग्रहालयसँगै नाटक घर स्थापना गर्ने र कला, संस्कृति र साहित्यको उत्थान गर्ने आफूहरुको लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका सल्लाहकार डा. रमेश शुभेच्छुकले बताए । उनले प्रतिष्ठानले सुरु गरेको अभियानमा सबैको साथ रहनुपर्नेमा जोड दिए । उनले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
अध्यक्ष कल्पितले आफूहरुको कामले देशको गौरव बढ्ने र त्यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने दाबीसमेत गरे ।

उनले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको सहयोग भएको खण्डमा थोरै समयमा नै निर्माण सम्पन्न हुने पनि स्पष्ट पारे । उनले एक थान इटा माग्ने अभियान सांकेतिक भएको र सहयोग गर्नेले ठूलो मात्रामा पनि सहयोग गरेको पनि बताए । सबैले एक थान इटा दिए पक्कै पनि भवन बन्छ भनेर यो अभियान चलाइएको उनले बताए ।

