मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने
काठमाडौं, १ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमवार विश्वासको मत लिने भएका छन् । कांग्रेस संसदीय दलका नेता थापाले विश्वासको मत लिनका लागि आज प्रदेशसभा सचिवलाई सूचना दिएका हुन् ।
उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमवार दिउँसो १ बजे छलफलका लागि समय तोकेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री थापाले आउँदो १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने छ । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद रहेका छन् ।
उपसभामुखसहित एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद प्रतिपक्षमा रहेका छन् । उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएमा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त हुनेछ । अन्यथा ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार अरू प्रक्रिया अघि बढ्ने छ ।

